लोक आवाज,
जनकपुरधाम, १४ बैशाख। देशकै एकमात्र रेल सेवा यतिबेला नेतृत्व अभाव, आर्थिक संकट र व्यवस्थापकीय कमजोरीको चपेटामा परेको छ।
भारतको जयनगरदेखि महोत्तरीको भंगहासम्म सञ्चालन भइरहेको नेपाल रेल्वे सेवा हाल ‘स्टोर इन्चार्ज’को भरमा चलिरहेको छ। कम्पनीमा महाप्रबन्धक पद सात महिनादेखि रिक्त रहँदा नीति निर्माणदेखि दैनिक प्रशासनिक निर्णयसम्म प्रभावित बनेका छन्।
जिम्मेवार नेतृत्व नहुँदा सेवा प्रवाहमा अव्यवस्था बढ्दै गएको कर्मचारीहरू बताउँछन्। हाल स्टोर इन्चार्ज केवल बहादुर नेपालीले दैनिक सञ्चालन सम्हाल्दै आएका छन्। तर, नीतिगत निर्णय गर्ने अधिकार नहुँदा काममा कठिनाइ भइरहेको उनको भनाइ छ। “महाप्रबन्धक नहुँदा निर्णय लिन गाह्रो भइरहेको छ, तर सेवा रोक्न मिल्दैन,” उनले भने।
कार्यालयमा सूचना अधिकारीसमेत नहुँदा यात्रु र सरोकारवालालाई आवश्यक जानकारी दिनसमेत समस्या देखिएको छ।
नेपाल रेल्वे कम्पनीको आर्थिक अवस्था पनि कमजोर बन्दै गएको छ। दैनिक करिब २–२.५ लाख रुपैयाँ आम्दानी भए पनि उच्च खर्चका कारण कम्पनी घाटामा सञ्चालन भइरहेको छ।
पूर्वमहाप्रबन्धक निरञ्जन झाका अनुसार मासिक आम्दानी करिब ७५ लाख रुपैयाँ हाराहारीमा सीमित छ भने खर्च एक करोड २९ लाख रुपैयाँसम्म पुग्ने गरेको छ। “आम्दानीले खर्च धान्न नसक्ने भएकाले ऋण लिएर सेवा सञ्चालन गर्नुपरेको छ,” उनले बताए।
सरकारी जमानीमा लिइएको ऋण २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित ७९ करोड रुपैयाँ नाघिसकेको छ। पछिल्ला वर्षहरूमा आम्दानीभन्दा खर्च अत्यधिक बढेको तथ्यांकले देखाउँछ।
रेल सञ्चालनमा प्राविधिक जनशक्तिको अभाव अर्को प्रमुख समस्या बनेको छ। हाल नेपालीतर्फ १४२ जना कर्मचारी भए पनि मुख्य सञ्चालन भारतीय प्राविधिकहरूले सम्हालिरहेका छन्।
रेलचालक, स्टेसन मास्टर र पोइन्ट्सम्यान गरी २३ जना भारतीय कर्मचारी कार्यरत छन्, जसका कारण खर्च बढिरहेको स्रोतको भनाइ छ। स्वदेशी दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा दीर्घकालीन आर्थिक भार थपिएको छ।
जनकपुरधामस्थित रेल्वे स्टेशनमा आधारभूत सुविधासमेत अभाव छ। खानेपानीको व्यवस्था छैन, जडान गरिएको ह्यान्डपम्पसमेत सञ्चालनमा छैन। स्टेशन परिसर अव्यवस्थित र सरसफाइ कमजोर छ।
स्थानीय सन्तोष साहका अनुसार, “रेल सेवा उपयोगी भए पनि स्टेशनको अवस्था कमजोर छ। खानेपानी, सरसफाइ र बस्ने ठाउँको उचित व्यवस्था हुनुपर्छ।”
इन्धन आपूर्तिका लागि आफ्नै फ्युलिङ स्टेशन नहुँदा भारतमा निर्भर रहनुपरेको छ भने स्थायी मर्मत वर्कसप अभावले सामान्य समस्या समाधानमा समेत ढिलाइ हुने गरेको छ।
सरोकारवालाहरूका अनुसार यात्रुवाहक सेवामा मात्र सीमित रहँदा नाफा सम्भव छैन। स्थानीय व्यवसायीहरूले कार्गो सेवा सञ्चालन गर्न सके रेल आर्थिक रूपमा सबल बन्ने विश्वास व्यक्त गरेका छन्।
व्यवसायी रामकुमार झाका अनुसार कोलकाता बन्दरगाहबाट सस्तो दरमा सामान आयात गर्न रेल उपयोगी हुन सक्छ, जसले व्यापार लागत घटाउनेछ।
रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले पनि कार्गो सेवा सञ्चालनले नाफा सम्भव हुने स्वीकार गरेका छन्। उनले आन्तरिक चुहावट नियन्त्रण, प्रशासनिक सुधार र राजनीतिक हस्तक्षेप अन्त्य आवश्यक रहेको बताए।
रेल विभागले आर्थिक अवस्था सुधार गर्न विभिन्न योजना अघि सारेको छ। रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिएर वार्षिक ८ करोड रुपैयाँ आम्दानी गर्ने योजना रहेको छ। साथै, पुरानो न्यारो गेज इन्जिन प्रयोग गरी रेल म्युजियम स्थापना गर्ने अवधारणा पनि अघि बढाइएको छ।



प्रतिक्रिया !