लोक आवाज ,
काठमाडौँ , १२ बैशाख — थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारको ‘स्क्रिनिङ’ कार्य तीव्र रूपमा अघि बढाइएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको संयुक्त टोलीले प्रभावित परिवारको विवरण सङ्कलन गरिरहेको छ।
अपराह्न १ः३० बजेसम्म २३ परिवारको लगत सङ्कलन भइसकेको छ। प्राधिकरणका अनुसार दर्ता प्रक्रियामा परेका चार परिवारलाई तत्काल कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा स्थानान्तरण गरिएको छ।
प्राधिकरणकी प्रशासन प्रमुख कविता केसी बोगटीका अनुसार वास्तविक सुकुम्बासीको पहिचान, परिवार सङ्ख्या र घरमुलीको विवरण संकलनपछि उनीहरूलाई सरकारले तोकेको अस्थायी आश्रयस्थलमा पठाइँदैछ। ती आश्रयस्थलमा बसोबास, भोजन लगायत आवश्यक व्यवस्थापन गरिएको छ। प्रारम्भिक व्यवस्थापनपछि दोस्रो चरणमा जमिन उपलब्ध गराउने योजना अघि बढाइने जनाइएको छ।
थापाथली क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाएपछि प्रभावित परिवारलाई आवश्यक सामानसहित दशरथ रङ्गशालामा ल्याइएको हो। आफ्नो बसोबासको वैकल्पिक व्यवस्था नभएका परिवारहरू अझै सहयोगको अपेक्षामा रङ्गशालामा आइरहेका छन्।
यस क्रममा काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाले चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली परिचालन गरी स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। स्थानान्तरणका क्रममा हुन सक्ने स्वास्थ्य समस्या न्यूनीकरणमा टोली सक्रिय रहेको बताइएको छ।
उता, थापाथलीको सुकुम्बासी बस्ती पूर्ण रूपमा हटाइएको छ भने सिनामंगल–गैरीगाउँ क्षेत्रमा पनि अवैध संरचना हटाउने कार्य सुरु गरिएको छ। स्थानीय परिवारहरूले सरकारी निर्देशनअनुसार आफ्ना घरटहरा भत्काएर सरसामान सुरक्षित स्थानतर्फ सारिरहेका छन्।



प्रतिक्रिया !