सरकारी विज्ञापन नीतिविरुद्ध धनुषामा पत्रकारको विरोध, महासंघद्वारा सरकारलाई ज्ञापनपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध धनुषामा पत्रकारको विरोध, महासंघद्वारा सरकारलाई ज्ञापनपत्र

लोक आवाज ,
जनकपुरधाम, १० वैशाख । सरकारी विज्ञापन वितरणसम्बन्धी नयाँ नीतिप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

सरकारले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र दिने निर्णयसहित जारी गरेको परिपत्रको विरोधमा महासंघले देशव्यापी आन्दोलन कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही कार्यक्रमअन्तर्गत धनुषामा पनि विरोध जनाइएको हो।

महासंघका जिल्ला अध्यक्ष पुरन साहको नेतृत्वमा पुगेको पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेललाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो।

ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिवस्तरमा जारी गरिएको परिपत्रप्रति गम्भीर आपत्ति जनाइएको छ। उक्त परिपत्रमार्फत संघीय मन्त्रालय, आयोग, सचिवालय तथा प्रदेश र स्थानीय तहलाई सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको उल्लेख गरिएको छ।

महासंघले यस निर्णयलाई प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष हस्तक्षेपको रूपमा व्याख्या गरेको छ। विज्ञापन क्षेत्रमा देखिएका अनियमितता नियन्त्रण गर्ने प्रयास सकारात्मक भए पनि त्यसको नाममा निजी सञ्चारमाध्यमलाई बेवास्ता गर्नु संविधान, प्रचलित कानुन, खुला बजार अर्थतन्त्र तथा संघीयताको मर्मविपरीत हुने महासंघको ठहर छ।

यस नीतिले निजी सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बन्ने, स्वतन्त्र पत्रकारितामाथि दबाब बढ्ने र हजारौं सञ्चारकर्मीको रोजगारी जोखिममा पर्ने महासंघले जनाएको छ।

महासंघले विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, समावेशी र समानुपातिक बनाउन माग गर्दै संविधानविपरीतका निर्देशन कार्यान्वयन नगर्न प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेको छ। माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।

ज्ञापनपत्र बुझाउने टोलीमा महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार रामभरत साह, संजय साहलगायतको सहभागिता रहेको थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार