लोक आवाज ,
जनकपुरधाम , ०९ बैशाख – बजारमा देखिएको एलपीजी ग्यास आपूर्ति असहजताबीच सरकारले अघि सारेको ‘आधा सिलिन्डर’ (७.१ किलो) नीति ग्यास व्यवसायीहरूले अस्वीकार गरेका छन्। व्यवसायीहरूले आगामी सोमबारदेखि पुनः १४.२ किलो क्षमताकै ग्यास सिलिन्डर उपभोक्तालाई बिक्री वितरण गर्ने घोषणा गरेका हुन्।
मंगलबार ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघ बीच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल ले सरकारले आधिकारिक रूपमा निर्णय नगरे पनि व्यवसायीहरूले आफ्नै पहलमा पूर्ण क्षमताको ग्यास वितरणमा फर्किने निष्कर्ष निकालेको जानकारी दिए।
उनका अनुसार ‘आधा सिलिन्डर’ नीति व्यवहारिक रूपमा कार्यान्वयन गर्न कठिन भएको, उपभोक्तामा अन्योल सिर्जना भएको र बजार व्यवस्थापनमा समस्या देखिएकाले यस्तो निर्णय गरिएको हो। व्यवसायीहरूले आपूर्ति प्रणालीलाई सहज बनाउन र उपभोक्ताको माग पूरा गर्न पुरानै प्रणालीमा फर्किनु आवश्यक ठानेका छन्।
पछिल्लो समय ग्यास आपूर्ति असहज भएपछि सरकारले आंशिक रूपमा ‘आधा सिलिन्डर’ वितरणको अवधारणा अघि सारेको थियो। यसको उद्देश्य सीमित आपूर्तिलाई बढी उपभोक्तामाझ बाँडफाँड गर्नु भए पनि कार्यान्वयनमा स्पष्ट नीति अभाव र समन्वय कमजोरीका कारण विवाद उत्पन्न भएको थियो।
व्यवसायीहरूको यस निर्णयसँगै अब बजारमा पुनः पुरानै १४.२ किलो ग्यास सिलिन्डर उपलब्ध हुने अपेक्षा गरिएको छ। यद्यपि, सरकार र व्यवसायीबीच यस विषयमा औपचारिक सहमति नभएकाले आगामी दिनमा थप छलफल र समन्वय आवश्यक देखिएको छ।



प्रतिक्रिया !