लोक आवाज ,
जनकपुरधाम, ९ बैशाख । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झा ले जनकपुरधाममा बुद्ध एअरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेत सँग भेटवार्ता गर्दै क्षेत्रीय हवाई कनेक्टिभिटी र व्यावसायिक कृषि विस्तारका विषयमा महत्वपूर्ण छलफल गरेका छन्।
भेटका क्रममा सांसद झाले धार्मिक, सांस्कृतिक तथा पर्यटन दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको जनकपुरधाम–अयोध्या प्रत्यक्ष हवाई सेवा सञ्चालनको आवश्यकता औंल्याएका थिए। उनले रामायण सर्किटअन्तर्गत पर्ने यी दुई धार्मिक शहरबीच सिधा हवाई सेवा सुरु हुन सके नेपाल–भारत धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनका अनुसार जनकपुरधामस्थित जनक मन्दिर र अयोध्यास्थित राम मन्दिरबीच हरेक वर्ष हजारौं श्रद्धालुहरूको आवागमन हुने भए पनि सहज र छिटो यातायातको अभावले तीर्थयात्रुहरूले कठिनाइ भोग्नुपरेको छ। “यदि हवाई सेवा सञ्चालनमा आयो भने धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र पनि चलायमान बन्नेछ,” सांसद झाको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
यसै क्रममा बुद्ध एयरका सञ्चालक बस्नेतले सम्भावित हवाई सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यावसायिक तथा नीतिगत पक्षहरूको अध्ययन गर्न सकिने संकेत दिएका छन्। उनले माग र सम्भावनाको आधारमा निजी क्षेत्र सक्रिय रूपमा अघि बढ्न तयार रहेको धारणा व्यक्त गरे।
छलफलमा कृषि क्षेत्रमा निजी लगानी विस्तार गर्ने विषय पनि प्राथमिकतामा परेको थियो। कोशी प्रदेशमा आरजु राइस मिलले हासिल गरेको सफलतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मधेश प्रदेशमा पनि सोही ढाँचाको आधुनिक कृषि उद्यम स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको बताइएको छ।
सांसद झाले मधेश प्रदेश कृषि उत्पादनका हिसाबले अत्यन्त सम्भावनायुक्त क्षेत्र भए पनि प्रशोधन उद्योगको अभावका कारण किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको बताए। “यदि उत्पादनसँगै प्रशोधन उद्योग जोड्न सकियो भने किसानको आम्दानी बढ्नुका साथै रोजगारीका अवसर पनि सिर्जना हुनेछन्,” उनले उल्लेख गरे।
उनले निजी क्षेत्रसँग सहकार्य गर्दै धान, गहुँलगायतका उत्पादनको आधुनिक प्रशोधन उद्योग स्थापना गर्न सकिने र यसले मधेशको कृषि अर्थतन्त्रलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।



प्रतिक्रिया !