लोक आवाज ,
जनकपुरधाम, ०५ बैशाख — मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा २० अर्बभन्दा बढी आम्दानी गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा कुल २० अर्ब १८ करोड ४९ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको हो।
प्रदेश सरकारले ३४ वटा विभिन्न शीर्षकबाट आम्दानी गर्दै आएको छ। सूचना अधिकारी निरेन्द्रलाल कर्णका अनुसार कुल आम्दानीमध्ये ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने समानिकरण तथा शसर्त अनुदानको रहेको छ, जुन आठ अर्ब रुपैयाँभन्दा बढी छ।
घाटा बजेट ल्याएको मधेस सरकारले आम्दानी भने सन्तोषजनक देखिए पनि खर्चको अवस्था कमजोर छ। चैत मसान्तसम्ममा प्रदेश सरकारले सात अर्ब एक करोड रुपैयाँ मात्र खर्च गरेको छ, जुन कुल बजेटको १४.९४ प्रतिशत मात्रै हो। खर्चमध्ये चालु खर्च २६.२३ प्रतिशत र पूँजीगत खर्च मात्र ९.०४ प्रतिशत रहेको छ।
राजश्वतर्फ मूल्य अभिवृद्धि करबाट ६ अर्बभन्दा बढी, अन्त शुल्कबाट दुई अर्बभन्दा बढी र सवारी करबाट १ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ। यस्तै, घरजग्गा दर्ता, सवारीसम्बन्धी दस्तुर, वन रोयल्टी तथा अन्य शीर्षकबाट समेत आम्दानी भएको छ।
कार्यालयका अनुसार फागुन मसान्तसम्म १६ अर्ब रुपैयाँ संकलन भएकोमा फागुन महिनामै चार अर्बभन्दा बढी राजश्व थपिएको थियो।



प्रतिक्रिया !