जनकपुरधाम उपमहानगरको निर्देशन: निजी विद्यालयलाई ७ दिनभित्र विवरण बुझाउन अल्टिमेटम ,

जनकपुरधाम उपमहानगरको निर्देशन: निजी विद्यालयलाई ७ दिनभित्र विवरण बुझाउन अल्टिमेटम ,

 लोक आवाज 

जनकपुरधाम, ४ बैशाख —  जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै संस्थागत (निजी) विद्यालयलाई आवश्यक शैक्षिक तथा प्रशासनिक विवरण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सूचना जारी गर्दै नगर शिक्षा समितिको चैत ३० गतेको निर्णयअनुसार सम्बन्धित विद्यालयहरुलाई आवश्यक कागजातसहित विवरण बुझाउन आग्रह गरेको हो।

सूचनाअनुसार विद्यालयहरुले विद्यालय वर्गीकरण, शुल्क निर्धारण तथा शैक्षिक सत्र २०८३ का लागि लागू गरिने सम्पूर्ण शुल्क विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका–२०६१ तथा विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०८१ अनुसार आफू कुन वर्गमा पर्ने हो भन्ने स्पष्ट आधार खुलाउनुपर्ने जनाइएको छ।

त्यस्तै, कक्षा १ देखि १२ सम्म प्रयोग हुने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा अन्य सिकाइ सामग्रीको विस्तृत सूची पब्लिकेशनको नाम र ठेगानासहित बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

उपमहानगरपालिकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र विवरण नबुझाए आवश्यक कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।

शाखा प्रमुख अन्जु पाण्डेयद्वारा जारी सूचनामा विद्यालयहरुको शुल्क व्यवस्थापनलाई व्यवस्थित र शैक्षिक सामग्रीमा पारदर्शिता कायम गर्न यो कदम चालिएको उल्लेख गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार