मधेशमा भारतीय सहयोग: ८९ विकास परियोजना, २१ धनुषामा केन्द्रित,

मधेशमा भारतीय सहयोग: ८९ विकास परियोजना, २१ धनुषामा केन्द्रित,

लोक आवाज ,

जनकपुरधाम, ४ बैशाख । भारत सरकारले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा कुल ८९ वटा विकास परियोजना सञ्चालन गरिरहेको जनाएको छ, जसमा २१ वटा परियोजना धनुषा जिल्लामा मात्रै केन्द्रित रहेका छन्।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीना ले धनुषाको बटेश्वर गाउँपालिका–३ मा रहेको श्री जनशक्ति माध्यमिक विद्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै भारत–नेपाल विकास साझेदारीबारे जानकारी दिएका हुन्। करिब ४ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त विद्यालय भवन भारत सरकारको सहयोगमा बन्नेछ।

महावाणिज्य दूत मीनाका अनुसार स्वीकृत ८९ परियोजनामध्ये हालसम्म ६१ वटा सम्पन्न भइसकेका छन् भने २८ वटा निर्माणाधीन छन्। तीमध्ये सबैभन्दा बढी ५४ वटा परियोजना शिक्षा क्षेत्रमा केन्द्रित छन्। त्यसपछि स्वास्थ्य क्षेत्रमा ७, सडक तथा पुलमा ८, संस्कृति क्षेत्रमा ३, विद्युतीकरणमा ५, सिँचाइमा २ र नदी तटबन्धमा १ परियोजना सञ्चालनमा रहेका छन्।

धनुषा जिल्लामा रहेका २१ परियोजनामध्ये १३ वटा सम्पन्न भइसकेका छन् भने ८ वटा हाल निर्माणाधीन अवस्थामा रहेका छन्।

यसका अतिरिक्त भारत सरकारले मधेश प्रदेशमा हालसम्म २३२ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपलब्ध गराइसकेको छ। तीमध्ये धनुषाले मात्रै ४६ एम्बुलेन्स र ११ स्कुल बस प्राप्त गरेको तथ्यांक सार्वजनिक गरिएको छ।

श्री जनशक्ति माध्यमिक विद्यालयको भवन भारत सरकारको High Impact Community Development Project (HICDP) कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो। परियोजनाका लागि भारत सरकारले करिब ३ करोड ४५ लाख रुपैयाँ लगानी गर्नेछ भने बटेश्वर गाउँपालिकाले १८ लाख रुपैयाँ साझेदारी गर्नेछ।

कार्यक्रममा महावाणिज्य दूत मीनाले नेपाल–भारतबीचको विकास साझेदारी दीर्घकालीन र बहुआयामिक रहेको उल्लेख गर्दै यी परियोजनाले स्थानीय तहमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रत्यक्ष प्रभाव पारिरहेको बताए।

स्थानीय तहका प्रतिनिधिहरूले पनि भारतीय सहयोगले मधेश प्रदेशमा उल्लेखनीय सुधार ल्याएको बताउँदै यस्ता परियोजनाले ग्रामीण क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार