लोक आवाज ,
जनकपुरधाम, ३ वैशाख – उपसभामुख रुबी कुमारी ठाकुर ले मधेशको आवाजलाई संस्थागत रूपमा सशक्त बनाउने उद्देश्यसहित पहिलोपटक संसदीय दल गठन गर्ने पहल अघि सारेकी छन्।
सार्वजनिक सन्देशमार्फत उनले यो कदमलाई सामान्य राजनीतिक अभ्यासभन्दा माथि उठाएर मधेशका जनताको अधिकार, सम्मान र पहिचान सुनिश्चित गर्ने दीर्घकालीन प्रतिबद्धताको रूपमा प्रस्तुत गरिन्। ठाकुरका अनुसार वर्षौंदेखि उपेक्षित रहँदै आएका मधेशका मुद्दाहरू अब संगठित र प्रभावकारी रूपमा उठान गर्ने समय आएको छ।
‘यो अभियान सत्तामुखी होइन, जनताको भरोसालाई व्यवहारमा रूपान्तरण गर्ने प्रयास हो,’ उनले भनिन्। नवगठित संसदीय दलले समान अधिकार, सामाजिक न्याय र समावेशीतालाई केन्द्रमा राख्दै नीति निर्माणमा सक्रिय भूमिका खेल्ने उनको दाबी छ।
ठाकुरले मधेशको पहिचान स्थापित गर्न राजनीतिक तथा सामाजिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको उल्लेख गरिन्। साथै, नयाँ सोच, जिम्मेवार नेतृत्व र सुधारिएको राजनीतिक संस्कारको आवश्यकता औंल्याउँदै आम नागरिकलाई पनि सक्रिय सहभागिताका लागि आह्वान गरिन्।
मधेश प्रदेशमा विकास, सुशासन र समावेशीताबारे बहस तीव्र भइरहेको सन्दर्भमा उनको पहललाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।



प्रतिक्रिया !