लोक आवाज ,
जनकपुरधाम , २८ चैत । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलीया सहरको कोलाहलभन्दा केही टाढा रहेको शान्त बस्ती हो। यहाँ पुग्दा लाग्छ, मानौं कुनै ग्रामीण गाउँमा आइपुगियो। यही बस्तीको ४ धुर जमिनमा बनेको सानो एकतल्ले घर अहिले देशभर चर्चाको केन्द्र बनेको छ।
बाहिरबाट अत्यन्त साधारण देखिने यही घरकी सदस्य हुन् २५ वर्षीया रुबी कुमारी ठाकुर, जो हालै संघीय संसद्को प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन्। उनको यो उपलब्धिसँगै मुजेलीया गाउँ र उक्त सानो घर राष्ट्रिय स्तरमै चर्चित बनेको छ।
रुबीको जीवनशैली जति साधारण छ, उनको परिवारको अवस्था त्योभन्दा अझ सामान्य छ। देशको दोस्रो उच्च संसदीय पदमा पुगेकी छोरीको जिम्मेवारी र गरिमाबारे उनका परिवारजनलाई अझै स्पष्ट जानकारी छैन। उनीहरूलाई यति मात्र थाहा छ—छोरीले ठूलो राजनीतिक उपलब्धि हासिल गरेकी छन्।
उनका बुबा सोगारथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए। छोरी सांसद बनेको खबर उनले उतै सुनेका थिए। हालै बिदामा घर फर्किएका सोगारथ भन्छन्, “विदेशमा रहेका नेपालीहरूले बधाई दिँदा गर्व लाग्थ्यो। गरिबीका कारण छोरीसँग समय बिताउन पाएनँ, तर आज उसले जनकपुरको नाम उचो बनाएकोमा खुसी छु।”
रुबीको सफलतामा उनकी आमा रेणु ठाकुरको ठूलो योगदान छ। ४ छोरी र २ छोराकी आमा रेणु दिनभर अधियाँ खेतमा मेहनत गर्छिन्। छोरीको उपलब्धि अझै पनि उनलाई सपना जस्तै लाग्छ। “छोरीलाई पढ्न मन थियो, त्यसैले टाढा पठाएँ,” उनी भन्छिन्, “आज तिनै आफन्तहरूले बधाई दिँदा गर्व लाग्छ।”
हाल पनि खेतमै व्यस्त रहने रेणुलाई ‘उपसभामुख’ पदको पूर्ण अर्थ थाहा नभए पनि छोरीप्रतिको माया र चिन्ता भने उस्तै छ। रुबीले दिनमा एक–दुई पटक फोन गरेर परिवारको हालखबर लिने गर्छिन्।
रुबीका भाइ शनि कुमार ठाकुरले भर्खरै एसईई दिएका छन्। दिदीको सफलता उनले सामाजिक सञ्जालमार्फत थाहा पाए। साथीभाइको बधाईले उनी उत्साहित छन् र दिदीबाट प्रेरित हुँदै आफू पनि पढेर ठूलो मान्छे बन्ने सपना देख्न थालेका छन्।
अहिले जनकपुरवासीहरूले ‘मधेशकी छोरी’ को सफलतालाई सामाजिक सञ्जालमा उत्सवका रूपमा मनाइरहेका छन्। सामान्य परिवार र अभावका बीचबाट देशको उच्च राजनीतिक पदमा पुग्नु आफैंमा उदाहरणीय उपलब्धि हो।
मुजेलीयाको त्यो सानो घरले आज सिंगो देशलाई सन्देश दिएको छ—सपना पूरा गर्न ठूला महल होइन, दृढ इच्छाशक्ति चाहिन्छ। अब धनुषाबासीहरूको अपेक्षा छ कि युवा उपसभामुख रुबी कुमारी ठाकुरले आफ्नो कार्यकाल सफल बनाउँदै देशभरका युवाका लागि प्रेरणाको स्रोत बन्न सकून्।



प्रतिक्रिया !