लोक आवाज ,
काठमाडौं, २८ चैत । शंकर पोखरेल ले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गरेका छन्।
शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जननिर्वाचित संसद्ले बनाएको प्रधानमन्त्री संसद्मा मौन बस्नुले विभिन्न प्रश्नहरू जन्माएको बताए। जनताको सार्वभौम सत्ताको प्रयोग हुने संसद्मा प्रधानमन्त्रीले बोल्न आवश्यक नठान्नु स्वेच्छाचारी शासनको संकेत भएको उनको भनाइ थियो।
त्यस्तै, उनले एमाले र एमाले नेतृत्वलाई भ्रष्टाचारमा डुबेको देखाउने भाष्य निर्माण भइरहेको आरोप लगाए। “पुराना दल र नेताप्रति अविश्वास सिर्जना गर्दै नयाँलाई मत दिए मात्र सुशासन र विकास सम्भव हुन्छ भन्ने धारणा फैलाउने प्रयास भइरहेको छ,” उनले भने।
महासचिव पोखरेलले सुशासनको नाममा नेतृत्वमा आएका व्यक्तिहरूले आफ्नै प्रतिबद्धता अनुसार पारदर्शिता कायम गर्न नसकेको पनि आरोप लगाए। अन्तरिम सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको र नयाँ सरकारका मन्त्रीहरू समेत यस विषयमा आलटाल गरिरहेको उनले बताए।
उनले प्रतिनिधिसभाका सभामुखको सम्पत्ति विवरणप्रति समेत प्रश्न उठाउँदै उक्त विवरण धेरैलाई पत्याउन गाह्रो भइरहेको टिप्पणी गरे। साथै, नेपालमा लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेका र देशलाई राजनीतिक द्वन्द्वबाट टाढा राख्ने नीतिका समर्थकहरूमाथि प्रहार भइरहेको उनले उल्लेख गरे।



प्रतिक्रिया !