महोत्तरीमा भीषण मोटरसाइकल दुर्घटना : तीनको ज्यान गयो, तीन गम्भीर घाइते,

महोत्तरीमा भीषण मोटरसाइकल दुर्घटना : तीनको ज्यान गयो, तीन गम्भीर घाइते,

लोक आवाज ,

महोत्तरी, २४ चैत – जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत महोत्तरीमा मंगलबार भएको भीषण मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सिमानामा पर्ने एकडारा–५ स्थित बखरी चोक नजिक दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा सवार व्यक्तिहरू जलेर घाइते भएका थिए।

दुर्घटनामा ज्यान गुमाउनेमा जलेश्वर नगरपालिका–६ का सुभाष दास, रवि दास तथा एकडारा गाउँपालिका–३ अजमरपट्टीका अभिषेक मण्डल रहेका छन्। उनीहरूको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, दुर्घटनामा परेर जलेश्वर नगरपालिका–६ का रोहित दास, जयकुमार महतो र अभय कापर गम्भीर घाइते भएका छन्। घाइतेमध्ये महतो र कापरको पूर्ण ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुवै मोटरसाइकलमा तीन–तीन जना सवार रहेको बताइएको छ।

दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनाको वास्तविक कारण अझै खुल्न नसकेको र आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मृतकहरूको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार