मनपरी शुल्क र समयअघि भर्नामा रोक, जनकपुरधाम उपमहानगरको कडा निर्देशन,

मनपरी शुल्क र समयअघि भर्नामा रोक, जनकपुरधाम उपमहानगरको कडा निर्देशन,

 सुनिल साह ,

जनकपुरधाम, २३ चैत । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूले जथाभावी रूपमा विद्यार्थी भर्ना लिने र चर्को शुल्क असुल गर्ने प्रवृत्तिमा कडाइ गर्ने भएको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सोमबार सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र सुरु हुनु अघि भर्ना प्रक्रिया नगर्न र तोकिएको भन्दा बढी शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको हो ।

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी पत्रमा केही संस्थागत विद्यालयहरूले शिक्षा नियमावली २०५९ (संशोधन सहित) र सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै समयअघि नै भर्ना खोल्ने तथा अभिभावकसँग मनपरी शुल्क असुल्ने गरेको उल्लेख गरिएको छ ।

सूचनाअनुसार अब नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न पाइनेछ । साथै, उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क बाहेक अन्य कुनै शीर्षकमा रकम असुल्न नपाइने स्पष्ट पारिएको छ ।

यसअघि अवैध रूपमा उठाइएको भर्ना शुल्क सम्बन्धित अभिभावकलाई फिर्ता गर्न समेत पालिकाले निर्देशन दिएको छ ।

तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

उपमहानगरपालिकाले अभिभावकहरूलाई पनि यस्ता गैरकानुनी गतिविधिबारे जानकारी गराउन आग्रह गर्दै शिक्षा क्षेत्रमा अनुशासन कायम गर्न सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार