लोक आवाज ,
रौतहट, २२ चैत । जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै गठन भएको नयाँ सरकारप्रति आम नागरिकको अपेक्षा उल्लेखनीय रूपमा बढेको छ।
विशेषगरी बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि वर्षौंदेखि थलिएको औद्योगिक क्षेत्र पुनर्जीवित हुने आशा विभिन्न जिल्लामा देखिन थालेको हो।
यसैक्रममा रौतहटको गरुडा नगरपालिका–५, महम्मदपुरस्थित लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल्स पुनः सञ्चालन हुने सम्भावनाले स्थानीयवासी, किसान तथा सरोकारवालाहरूमा नयाँ आशा जागृत गरेको छ।
सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा उक्त मिल समावेश नभए पनि स्थानीय स्तरमा भने सरकारको सक्रियताले उद्योग पुनर्जीवित हुन सक्ने विश्वास व्यक्त गरिएको छ।
वि.सं. २०४९ सालमा उद्योगपति दिवाकर गोल्छा द्वारा स्थापना गरिएको यो मिल एक समय मधेशकै प्रमुख औद्योगिक केन्द्रका रूपमा चिनिन्थ्यो। अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको उद्योगले दैनिक ठूलो परिमाणमा उखु प्रशोधन गर्ने क्षमता राख्थ्यो।
मिल सञ्चालनमा हुँदा रौतहट, बारा र सर्लाहीका हजारौं किसानले आफ्नो उखु बिक्रीका लागि भरपर्दो बजार पाएका थिए। त्यतिबेला उद्योगमा प्रत्यक्ष रूपमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौंको जीविकोपार्जन यसैसँग जोडिएको थियो।
तर व्यवस्थापन कमजोरी, आर्थिक संकट लगायतका कारण देखाउँदै २०७७ साउन ११ गते उद्योग स्थायी रूपमा बन्द गरिएको थियो। त्यसयता किसानहरू वैकल्पिक बजारको खोजीमा छन् भने कतिपयले उखु खेती नै छाड्न बाध्य भएका छन्।
स्थानीयका अनुसार सरकारले चाहेमा यो उद्योग पुनः सञ्चालन गर्न असम्भव छैन। उनीहरू विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ व्यवस्थापन मोडेल अपनाउनुपर्नेमा जोड दिन्छन्।
उद्योग पुनः सञ्चालन भएमा कम्तीमा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र हजारौं किसान लाभान्वित हुने विश्वास गरिएको छ। साथै, स्वदेशमै चिनी उत्पादन बढेर आयातमा निर्भरता घट्ने अपेक्षा पनि गरिएको छ।
स्थानीय व्यवसायीहरूका अनुसार मिल सञ्चालनमा आएमा क्षेत्रीय अर्थतन्त्र चलायमान हुने, कृषि, व्यापार र रोजगारी क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ।
हालसम्म सरकारबाट उद्योग सञ्चालनबारे स्पष्ट निर्णय सार्वजनिक नभए पनि बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन र विकासलाई प्राथमिकता दिएको भन्दै स्थानीयवासी आशावादी देखिएका छन्।
स्थानीय तहदेखि किसानसम्म सबै अहिले सरकारको ठोस पहलको प्रतीक्षामा छन्। श्रीराम सुगर मिल्स पुनः सञ्चालन भएमा रोजगारी सृजना, कृषि उत्पादन वृद्धि र औद्योगिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।



प्रतिक्रिया !