नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु, तीन अध्यादेश पेस हुँदै,

नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु, तीन अध्यादेश पेस हुँदै,

लोक आवाज ,

काठमाडौँ , १९ चैत । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजे प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ।

रामचन्द्र पौडेल ले नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजका लागि आह्वान गरेका थिए।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसहित सम्पूर्ण तयारी पूरा भइसकेको छ। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच र एक स्वतन्त्र सांसद रहेका छन्।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले

  • ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’
  • ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’
  • ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’

पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउनेछन्।

त्यसपछि प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार कामकारबाही अघि बढाउने प्रस्ताव प्रस्तुत गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन पनि गरिनेछ।

अधिवेशन प्रारम्भका अवसरमा विभिन्न दलका सांसदहरूले आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। साथै, प्रतिनिधिसभाको सभामुख निर्वाचनका लागि मिति तोक्ने तयारी पनि गरिएको छ।

बैठकको अन्त्यमा संविधानसभा तथा राष्ट्रियसभाका पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार