लुम्बिनीकी सांसद रेखाकुमारी शर्मा पक्राउ, बालिका हिंसा आरोप प्रकरणमा नयाँ मोड,

लुम्बिनीकी सांसद रेखाकुमारी शर्मा पक्राउ, बालिका हिंसा आरोप प्रकरणमा नयाँ मोड,

लोक आवाज ,

काठमाडौं,१६ चैत – लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा लाई प्रहरीले गएराति काठमाडौंको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यो प्रकरण २०८१ जेठ १४ गतेदेखि सुरु भएको थियो, जब काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट एक नाबालिका बालिकाको उद्धार गरेको थियो। दाङकी ती बालिकालाई घरेलु कामदारका रूपमा राखेर शारीरिक तथा मानसिक हिंसा गरिएको आरोप सांसद शर्मामाथि लाग्दै आएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ले उक्त घटनाबारे सार्वजनिक रूपमा आवाज उठाउँदै बालिकामाथि कुटपिट, बाहिर निस्कन प्रतिबन्ध तथा उचित बसोबासको अभाव रहेको आरोप लगाएका थिए। त्यसपछि महानगरले २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत मुद्दा दर्ता गराएको थियो।

यस ऐनअनुसार बालबालिकामाथि शारीरिक, मानसिक पीडा दिने, तिरस्कार, उपेक्षा वा भेदभाव गर्ने कार्यलाई हिंसा मानिन्छ। यस्तो कसुर प्रमाणित भएमा ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

यसअघि २०८१ माघमा सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि मेयर शाहले असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत पीडित बालिकासँग माफी समेत मागेका थिए। यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो, जहाँ बालिकाका बुबाले ‘बन्दी प्रत्यक्षीकरण’ रिट दायर गरेका थिए।

२०८१ असार २८ गते सपना प्रधान मल्ल, टेकप्रसाद ढुंगाना र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले महत्वपूर्ण फैसला सुनाएको थियो। अदालतले बालिकाको उद्धारलाई वैध ठहर गर्दै ‘बालबालिकाको सर्वोत्तम हित’ अनुकूल भएको निष्कर्ष निकालेको थियो।

साथै, बालिकाको इच्छाअनुसार काठमाडौंमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाउन तथा अभिभावकको जिम्मामा राख्दै शिक्षा र हेरचाह सुनिश्चित गर्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो।

लामो समयदेखि अन्योल र कानुनी बहसमा रहेको यो प्रकरणमा प्रहरीले सांसद शर्मालाई पक्राउ गरेसँगै नयाँ मोड आएको छ। अब उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढ्ने भएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार