लोक आवाज ,
काठमाडौं, १३ चैत – बालेन्द्र शाह नेतृत्वमा आज गठन हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल बहुमत सरकार इतिहासमै पहिलो पटक मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भएको छ। यसअघि संवैधानिक व्यवस्थाअनुसार संघीय संसदमा मात्र ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिँदै आएको भए पनि मन्त्रिपरिषदमा भने यस्तो अभ्यास कहिल्यै भएको थिएन।
नयाँ सरकारमा प्रधानमन्त्रीसहित कुल १५ सदस्यीय मन्त्रिपरिषद गठन हुने तय भएको छ। संविधानले २५ सदस्यसम्मको मन्त्रिपरिषद बनाउन अनुमति दिए पनि रास्वपाले मन्त्रालय गाभेर मन्त्रीको संख्या घटाएको हो। यस संरचनाअनुसार १५ मध्ये ५ जना महिला मन्त्री रहनेछन्, जसले ३३.३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नेछ।
रास्वपाले सोविता गौतमलाई कानून मन्त्री बनाउने निर्णय गरेको छ। उनी अधिवक्ता तथा कानून विषयमा स्नातक गरेकी हुन्। यस्तै प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बन्ने भएकी छन्, जसले लामो समय सञ्चार क्षेत्रमा काम गरेकी छन्। गीता चौधरीलाई कृषिमन्त्री बनाउने तयारी गरिएको छ, उनी पनि कानून पृष्ठभूमिकी अधिवक्ता हुन्।
त्यसैगरी सीता वादीलाई महिला, बालबालिका मन्त्री बनाइने भएको छ, जो वादी समुदायबाट पहिलोपटक संघीय संसदमा पुगेकी प्रतिनिधि हुन्। निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने सहमति भएको छ, उनी नर्सिङ क्षेत्रमा अनुभवी पेशेवर हुन्।




प्रतिक्रिया !