सुनिल साह ,
काठमाडौँ, १३ चैत – राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाह (बालेन)लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया पूरा गर्दै शाहलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
शाहको नियुक्तिसँगै देशको राजनीतिक नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। स्वतन्त्र छवि र काठमाडौं महानगरपालिकाका मेयरका रूपमा लोकप्रियता हासिल गरेका शाहले अब संघीय सरकारको नेतृत्व सम्हाल्ने भएका छन्। राजनीतिक विश्लेषकहरूले उनको नियुक्तिलाई परम्परागत दलहरूभन्दा फरक नेतृत्वको उदयका रूपमा लिएका छन्।
नवनियुक्त प्रधानमन्त्री शाहले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथसँगै उनले मन्त्रिपरिषद् गठन, नीतिगत प्राथमिकता निर्धारण तथा प्रशासनिक सुधारका काम अघि बढाउने अपेक्षा गरिएको छ।
यसैबीच, विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणले नयाँ प्रधानमन्त्रीबाट सुशासन, पारदर्शिता र विकासमुखी नीतिको अपेक्षा गरेका छन्। देशको वर्तमान आर्थिक तथा सामाजिक चुनौती समाधान गर्न शाहले प्रभावकारी नेतृत्व देखाउने विश्वास व्यक्त गरिएको छ।





प्रतिक्रिया !