रामनवमीमा शोभायात्रा रोक्न प्रशासनको निर्देशन, धार्मिक संस्थाहरूको विरोध

रामनवमीमा शोभायात्रा रोक्न प्रशासनको निर्देशन, धार्मिक संस्थाहरूको विरोध

लोक आवाज,

जनकपुरधाम, १२ चैत। जिल्ला प्रशासन कार्यालय धनुषाले रामनवमीको अवसरमा आयोजना गरिने शोभायात्रा, बाइक र्‍याली तथा सार्वजनिक प्रदर्शन नगर्न निर्देशन दिएपछि धार्मिक तथा सामाजिक संघसंस्थाहरूले त्यसप्रति आपत्ति जनाएका छन्।

प्रशासनद्वारा जारी पत्रअनुसार जिल्ला सुरक्षा समितिको बैठकले वर्तमान अवस्थालाई मध्यनजर गर्दै कुनै पनि संघसंस्था वा निकायलाई सभा, जुलुस, र्‍याली तथा प्रदर्शन गर्न अनुमति दिन उपयुक्त नहुने निष्कर्ष निकालेको हो।

सोही निर्णयका आधारमा प्रशासनले चैत १३ गते पर्ने रामनवमीका दिन शोभायात्रा र बाइक र्‍याली जस्ता कार्यक्रम नगर्न/नगराउन निर्देशन दिएको जनाएको छ।

यता, राष्ट्रिय एकता दल धनुषाले उक्त निर्णयप्रति असहमति जनाउँदै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको छ। दलका प्रदेश इन्चार्ज मनिष पुर्वेद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै निर्णयलाई असंवैधानिक र पक्षपातपूर्ण भनिएको छ।

विज्ञप्तिमा रामनवमीका कार्यक्रमहरू शान्तिपूर्ण रूपमा आयोजना गरिने स्पष्ट पार्दै प्रशासनको निर्णयले धार्मिक अधिकार खोस्न नसक्ने चेतावनी दिइएको छ। साथै, कार्यक्रम सञ्चालनमा कुनै अवरोध आए त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ।

यसअघि राष्ट्रिय एकता दलले जनकपुरधाम–२३ बिन्धीबाट सुरु हुने शोभायात्रा नगर परिक्रमा गर्दै जानकी मन्दिर परिसरमा समापन गर्ने योजना बनाएको थियो र त्यसका लागि प्रशासनसँग सुरक्षा व्यवस्थाको माग गरेको थियो।

त्यस्तै, हिन्दू सम्राट नेपाल धनुषा जिल्ला कार्य समितिले पनि लक्ष्मीनिया क्षेत्रबाट सुरु हुने शोभायात्राका लागि अनुमति तथा सुरक्षा व्यवस्थापनको माग गर्दै निवेदन दिएको थियो। उक्त संगठनले विभिन्न स्थान हुँदै जानकी मन्दिरसम्म पुग्ने रुट तय गरेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार