लोक आवाज ,
जनकपुरधाम , १२ चैत । मधेश प्रदेशमा विकास योजनाहरूको कार्यान्वयन प्रक्रियामा हुने कथित ‘चिठ्ठी बेचबिखन’ र अनियमितताविरुद्ध युवाहरूले कडा चेतावनी दिएका छन्।
सचेत युवाहरूको समूहले सार्वजनिक अपिल जारी गर्दै यस वर्ष योजनाको नाममा हुने कुनै पनि आर्थिक चलखेल स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनीहरूले मुख्यमन्त्रीदेखि मन्त्री, कर्मचारी र स्वकीय सचिवसम्मको संलग्नतामा रकम उठाएर योजना वितरण गरिएको प्रमाण भेटिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
युवाहरूले यस्तो गतिविधिलाई सीधै भ्रष्टाचारको रूपमा व्याख्या गर्दै दोषी जोसुकै भए पनि भौतिक कारबाहीसहित कानुनी प्रक्रियामा लैजान आफूहरू तयार रहेको बताएका छन्।
सार्वजनिक सूचनामा उल्लेख छ, “हामी अब मौन बस्ने अवस्थामा छैनौं। जनताको करबाट आउने बजेटलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति अब सहन सकिँदैन। यदि कुनै पनि तहमा रकम लिएर योजना बाँडफाँट भएको पाइयो भने त्यसको सशक्त प्रतिकार गरिनेछ।”
विगतका वर्षहरूमा योजनाको पारदर्शितामा प्रश्न उठ्दै आएको स्मरण गराउँदै युवाहरूले यसपटक त्यसलाई रोक्न आफूहरू अग्रसर रहने बताएका छन्।
युवाहरूले मधेश प्रदेशलाई समस्याको रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै यसलाई शक्ति र सम्भावनाको केन्द्रका रूपमा अघि बढाउन सबैलाई आह्वान गरेका छन्।
उनीहरूले स्थानीय तहदेखि प्रदेश सरकारसम्म योजना छनोट र कार्यान्वयनमा पारदर्शिता, उत्तरदायित्व र जनसहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। साथै, कुनै पनि अनियमितता भएमा प्रमाण संकलन गरी सार्वजनिक गर्ने र आवश्यक परे सडक आन्दोलनसम्म गर्ने चेतावनीसमेत दिएका छन्।




प्रतिक्रिया !