लोक आवाज ,
जनकपुरधाम, ९ चैत। एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलहरूमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।
वर्षाका कारण प्रारम्भिक खेलहरू प्रभावित बनेको प्रतियोगितामा सोमबार भने दुवै खेल प्रतिस्पर्धात्मक र रोचक बने।
जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रंगशाला मा भएको खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि १४८ रनको फराकिलो जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा २४९ रन बनाउँदै २५० रनको लक्ष्य दिएको थियो। कप्तान देव खनाल ले ९२ रन बनाउँदा सन्तोष यादव ले ४८ रनको योगदान दिए।
जवाफमा कोशी प्रदेश ३१.४ ओभरमा १०१ रनमै समेटियो। अंकित सुवेदी ले ३० रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्। बलिङतर्फ सन्तोष यादवले ४ विकेट लिए भने राजेन्द्र बलमे ले ३, निर्मल गुरुङ ले २ र सन्देश थापा ले १ विकेट लिए। उत्कृष्ट अलराउण्ड प्रदर्शनका लागि सन्तोष यादव ‘म्यान अफ द म्याच’ घोषित भए।
यसैगरी, वीरगञ्ज स्थित नारायणी रंगशाला मा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको कर्णाली ३२ ओभरमा ११९ रनमा समेटियो। विपिन रावल ले ३३ र सुनिल धमला ले २८ रन बनाए।
कर्णालीका हेमन्त धामी ले उत्कृष्ट बलिङ गर्दै ७ ओभरमा १६ रन खर्चेर ६ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। १२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। किरण ढगुन्ना ले २६ र खडक बोहोरा ले २३ रन बनाए। अन्त्यतिर मिलन बोहोरा (१८) र शेर बोहोरा (१०) नटआउट रहँदै टोलीलाई जित दिलाए।
बलिङतर्फ अनुज चनारा र दिवान पुन ले समान २–२ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि हेमन्त धामी ‘म्यान अफ द म्याच’ घोषित भए।
वर्षाले सुरुवाती खेल प्रभावित बनाए पनि सोमबारका खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाएका छन्।




प्रतिक्रिया !