लोक आवाज ,
सिरहा, ९ चैत। सिरहा मा मोटरसाइकल मर्मतको बिल भुक्तानीको विषयमा सुरु भएको सामान्य विवादले हिंसात्मक रूप लिँदा ६ जनाविरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा का अनुसार सिरहा नगरपालिका–१२ का २५ वर्षीय आरिफ मियाँ, ५० वर्षीय करिया मियाँ, २० वर्षीय अरमान मियाँ, ३४ वर्षीय हासिम मियाँ, ३० वर्षीय बक्कर मियाँ र २४ वर्षीय नइम दफालीविरुद्ध उक्त अभियोग दायर गरिएको हो।
प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पाल का अनुसार घटनामा संलग्नमध्ये आरिफ मियाँ पक्राउ परेका छन् भने अन्य आरोपितहरू फरार छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
गत ६ चैतमा सिरहा नगरपालिका–१२ को सारर्श्वर क्षेत्रमा स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच मोटरसाइकल मर्मतको बिल भुक्तानीलाई लिएर विवाद सुरु भएको थियो। प्रारम्भिक भनाभनपछि विवाद चर्किँदै जाँदा दुबै पक्षबीच कुटाकुट भएको थियो।
घटनामा सलमान पक्षका ४ जना र हासिम पक्षका २ जना गरी ६ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको उपचार जारी रहेको छ भने अन्यले उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र फरार आरोपितहरूलाई शीघ्र पक्राउ गर्ने प्रयास जारी रहेको जनाएको छ।



प्रतिक्रिया !