लोक आवाज ,
काठमाडौँ, ०४ चैत — जनमत पार्टीका अध्यक्षसिके राउतले संसदीय राजनीति त्याग्ने घोषणा गरेपछि पार्टीभित्र तरंग पैदा भएको छ। उनले अब आफू संसद्मुखी राजनीतिमा संलग्न नहुने तर संगठन निर्माण र संघर्षको राजनीतिमा केन्द्रित हुने बताएका छन्।
राउतको यो निर्णयपछि पार्टीका केही शीर्ष नेताहरू चिन्तित देखिएका छन्। महासचिव चन्दन सिंहले अध्यक्षको निर्णय व्यक्तिगत भए पनि त्यसले पार्टीलाई दीर्घकालीन रूपमा असर पार्न सक्ने बताएका छन्। “हामीले उहाँलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छौँ,” उनले भने, “मधेसका मुद्दा संसद्मा उठाउन सक्षम नेतृत्व आवश्यक छ।”
यद्यपि, अध्यक्ष राउतले यसबारे कुनै स्पष्ट प्रतिक्रिया नदिएको र अन्तिम निर्णय उनको व्यक्तिगत अधिकारभित्र पर्ने महासचिव सिंहले स्पष्ट पारे।
स्वतन्त्र मधेसको मागसहित आन्दोलनबाट उदाएका राउत २०७५ सालमा जनमत पार्टी स्थापना गर्दै मूलधारको राजनीतिमा प्रवेश गरेका थिए। २०७९ को आमनिर्वाचनमा उनले सप्तरी–२ बाट उपेन्द्र यादबलाई पराजित गर्दै उल्लेखनीय जित हासिल गरेका थिए, जसले उनलाई राष्ट्रिय राजनीतिमा चर्चित बनायो।
राउतले भने आफूले दुई पटक व्यक्तिगत इच्छाविपरीत निर्वाचन लडेको दाबी गरेका छन्। पार्टीलाई स्थापित गर्न र कार्यकर्ताको दबाबका कारण उम्मेदवारी दिएको उल्लेख गर्दै उनले त्यसले पार्टीलाई संसद्मा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
अब भने उनले पद र संसदीय राजनीतिप्रति कुनै मोह नराख्ने स्पष्ट पार्दै वैकल्पिक रूपमा जनताको सेवा गर्ने बताएका छन्। साथै, आगामी स्थानीय र प्रदेश तहको निर्वाचनका लागि पार्टीलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
यता, पार्टीभित्र केही नेताहरूले राउतको निर्णयलाई सकारात्मक रूपमा पनि लिएका छन्। सचिव तथा मधेस प्रदेश सभा सदस्य संजय यादवले संगठन सुदृढीकरणका लागि यस्तो निर्णय आवश्यक रहेको बताए। “सबै जना मन्त्री र सांसद भए पार्टी कसले चलाउने?” उनले प्रश्न गर्दै अब पार्टीभित्र नयाँ नेतृत्व उत्पादनमा जोड दिइने बताए।




प्रतिक्रिया !