लोक आवाज ,
काठमाडौं , ०४ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नसकिएकोप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
बुधबार आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले समावेशीताको सवालमा भएको यो कमीप्रति गम्भीर आत्मसमिक्षा आवश्यक रहेको बताए। “म दुःखका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई–लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन,” उनले भने, “सभापतिको हैसियतमा म यसको जिम्मेवारी लिन्छु र आगामी दिनमा यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्दछु।”
लामिछानेले पार्टीले सुरुदेखि नै समावेशी र समानुपातिक प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै व्यवहारमा भने केही कमजोरी देखिएको स्वीकार गरे। उनले विशेषगरी आदिवासी जनजाति समुदायको सहभागिता सुनिश्चित गर्न पार्टीले अझ ठोस रणनीति अवलम्बन गर्ने बताए।
उनका अनुसार अबको राजनीतिक यात्रामा राई, लिम्बू लगायत सबै उपेक्षित र कम प्रतिनिधित्व भएका समुदायलाई अघि ल्याउने विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ। “समावेशिता केवल नारा मात्र होइन, व्यवहारमा देखिनुपर्छ,” उनले जोड दिए।
कार्यक्रममा सहभागी सांसद तथा नेताहरूलाई उनले जनताको अपेक्षा अनुसार काम गर्न आग्रह गर्दै सामाजिक न्याय, समान अवसर र समावेशी प्रतिनिधित्वलाई पार्टीको मूल आधारका रूपमा अघि बढाउन निर्देशन दिएका थिए।
रास्वपाले पछिल्लो निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरे पनि विभिन्न समुदायको प्रतिनिधित्वका विषयमा आलोचना हुँदै आएको छ।



प्रतिक्रिया !