लोक आवाज ,
काठमाडौँ , ०१ चैत । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।
आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनका अनुसार आदिवासी जनजातिबाट ६ जना, खसआर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जना गरी ५ जनाको नाम आयोगमा पठाइनेछ। बाँकी तीन जनाको नाम पनि क्लष्टर मिलाएर सिफारिस गरिने उनले बताए।
समानुपातिकतर्फ पठाइने नाममध्ये १५ जना महिला अनिवार्य रूपमा रहने चालिसेले जानकारी दिए। निर्वाचन आयोगले समानुपातिकमा प्राप्त मतका आधारमा सांसद सङ्ख्याको कोटा निर्धारण गर्दै दलहरूलाई नाम बुझाउन निर्देशन दिएको थियो।
कांग्रेसले बुझाउने नामहरू निर्वाचन आयोगले नै सार्वजनिक गर्ने जनाइएको छ।
यस्तै, अब बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पूर्ण समीक्षा गरी पार्टीको धारणा सार्वजनिक गर्ने प्रवक्ता चालिसेले बताए।




प्रतिक्रिया !