लोक आवाज ,
काठमाडौं, ०१ चैत – (रास्वपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फका ५७ जना सांसदको नामावली टुंगो लगाएको छ।
आइतबार काठमाडौंको च:मतीस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने ५७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा पार्टी सभापति भने स्वास्थ्य अवस्थाका कारण भौतिक रूपमा उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता मनिष झाले समानुपातिकतर्फ ५७ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको बताए। उनका अनुसार पार्टीले सबै प्रक्रिया पूरा गरेर नामावली आयोगमा पठाउने तयारी गरेको छ।
तर सिफारिस गरिएका व्यक्तिहरूको नाम भने अहिले सार्वजनिक गरिएको छैन। प्रवक्ता झाले आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै अन्तिम नामावली सार्वजनिक हुने बताए।
उनका अनुसार समानुपातिक समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। रास्वपाले खसआर्य समुदायबाट १७ जना, आदिवासी जनजाति समुदायबाट १६ जना, मुस्लिम समुदायबाट ३ जना, दलित समुदायबाट ८ जना, मधेशी समुदायबाट ९ जना र थारू समुदायबाट ४ जनाको नाम सिफारिस गरेको जनाएको छ।
लैंगिक प्रतिनिधित्वतर्फ पनि पार्टीले महिलालाई प्राथमिकता दिएको छ। सिफारिस गरिएको सूचीमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन्।
रास्वपाले समानुपातिक सूची तयार गर्दा समावेशीता, क्षेत्रीय सन्तुलन र विभिन्न समुदायको प्रतिनिधित्वलाई प्राथमिकता दिएको जनाएको छ। पार्टीका नेताहरूका अनुसार समानुपातिक प्रणालीमार्फत संसदमा विविध समुदायको आवाज सशक्त रूपमा उठाउने उद्देश्य रहेको छ।
निर्वाचन आयोगले दलहरूबाट प्राप्त नामावलीको कानुनी प्रक्रिया र मापदण्ड परीक्षण गरेपछि अन्तिम सूची सार्वजनिक गर्नेछ। त्यसपछि समानुपातिकतर्फबाट प्रतिनिधिसभामा जाने सांसदहरूको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !