लोक आवाज ,
काठमाडौँ , ३० फागुन । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले पार्टीको भागमा परेका १६ जना समानुपातिक सांसदको नाम अनुमोदन गरेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नौ सिट जितेको थियो भने समानुपातिकतर्फ १४ लाख ५५ हजार मत प्राप्त गरेको थियो। सोही मतको आधारमा प्रतिनिधिसभामा एमालेको भागमा १६ जना समानुपातिक सांसद परेका हुन्।
पार्टी सचिव महेश बस्नेतले सचिवालय बैठकले विभिन्न समुदाय र समावेशी समूहलाई प्रतिनिधित्व हुनेगरी सांसदहरूको नाम टुंगो लगाएको जानकारी दिए। उनका अनुसार संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तअनुसार महिला, दलित, मधेसी, थारु, मुस्लिम तथा खस आर्य समुदायबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
एमालेले महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठलाई समानुपातिक सांसदका रूपमा चयन गरेको छ। त्यसैगरी पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन्।
खस आर्य समूहबाट पाँच जनालाई प्रतिनिधित्व दिइएको छ। यसअन्तर्गत पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल महिलातर्फ चयन भएका छन् भने गुरु प्रसाद बराल र पुष्पराज कंडेल पुरुषतर्फबाट चयन भएका छन्।
थारु समुदायबाट कृपाराम राणा समानुपातिक सांसदमा चयन भएका छन्। दलित समुदायबाट विष्णुमाया वी.के. र नीता घटानीलाई प्रतिनिधित्व दिइएको छ।
त्यसैगरी मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल चयन भएका छन्। मुस्लिम समुदायबाट साजिदा सिद्दीकी समानुपातिक सांसदका रूपमा चयन भएकी छन्।
एमालेले समानुपातिकतर्फबाट समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न जातीय, क्षेत्रीय र लैङ्गिक समूहलाई समेट्ने प्रयास गरेको जनाएको छ। पार्टीका नेताहरूका अनुसार प्रतिनिधिसभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले अनुभव, योगदान र समावेशी प्रतिनिधित्वलाई आधार मानेर नाम छनोट गरिएको हो।




प्रतिक्रिया !