हल्लाका कारण जनकपुरधाममा ग्यासको कृत्रिम अभाव, वास्तविक आपूर्ति भने नियमित,

हल्लाका कारण जनकपुरधाममा ग्यासको कृत्रिम अभाव, वास्तविक आपूर्ति भने नियमित,

लोक आवाज ,

जनकपुरधाम, ३० फागुन । जनकपुरधाममा खाना पकाउने एलपी ग्यासको वास्तविक अभाव नभए पनि उपभोक्तामा फैलिएको त्रासका कारण बजारमा कृत्रिम समस्या देखिन थालेको ग्यास व्यवसायीहरूले बताएका छन्।

ग्यास व्यवसायी संघका पूर्वअध्यक्ष सोगारथ पण्डितका अनुसार जनकपुरधामसहित धनुषा जिल्लामा ग्यासको आपूर्ति नियमित रूपमा भइरहे पनि उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर लिन खोज्दा बजारमा अस्थायी दबाब सिर्जना भएको छ।

उनले ग्यासको आपूर्ति रोकिएको वा अभाव भएको अवस्था नरहेको स्पष्ट पार्दै केही दिनयता सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलिएको हल्लाका कारण उपभोक्तामा त्रास बढेको बताए।

“ग्यास नियमित रूपमा आइरहेको छ, तर उपभोक्ता आतिएर एकैपटक दुई–तीन सिलिन्डर लिन खोज्दा बजारमा ग्यास कम भएको जस्तो देखिएको हो,” पण्डितले भने।

उनका अनुसार हल्लाका कारण एक्कासी माग बढ्दा केही डिलरहरूमा लाइन लाग्ने अवस्था देखिएको छ। यद्यपि ग्यास उद्योग र डिलरमार्फत आपूर्ति नियमित चक्रमा चलिरहेकाले दीर्घकालीन अभावको अवस्था नरहेको उनले बताए।

पण्डितले सबै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरे। यसरी संयमता अपनाए बजारमा देखिएको अस्थायी समस्या स्वतः समाधान हुने उनको विश्वास छ।

यसैबीच उनले सरकारले पनि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने प्रयास भए कडा कारबाही गर्नुपर्ने सुझाव दिएका छन्।

स्थानीय ग्यास व्यवसायीहरूका अनुसार जनकपुरधामका अधिकांश डिलरहरूमा ग्यास आइरहेकाले वास्तविक अभाव नभए पनि उपभोक्ताको भीडका कारण केही स्थानमा अस्थायी रूपमा सिलिन्डर सकिने अवस्था देखिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार