लोक आवाज ,
जनकपुरधाम, २९ फागुन – नेपाल पुलिसले प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिभर सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण तथा भ्रामक सामग्री फैलाएको आरोपमा देशभरबाट ३७ जनालाई पक्राउ गरेको जनाएको छ।
निर्वाचनको निष्पक्षता र शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले विभिन्न जिल्लामा गरिएको निगरानीका क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्ले का अनुसार उम्मेदवारी दर्तादेखि मतदान सम्पन्न हुने दिनसम्म सामाजिक सञ्जालमा गलत सूचना, भ्रामक प्रचार तथा जनमतलाई प्रभावित पार्ने सामग्री प्रसारण गरेको आरोपमा १५ जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले फरक–फरक मिति र स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते सम्पन्न भएको थियो भने फागुन २१ गते देशभर मतदान भएको थियो। यही अवधिभर सामाजिक सञ्जालमा निगरानी कडा पारिएकाले भ्रम फैलाउने गतिविधिमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी पक्राउ गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका रहेका छन्। काठमाडौँबाट मात्रै १६ जनालाई सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिइएको प्रवक्ता काफ्लेले जानकारी दिए। राजधानीमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या धेरै भएकाले यस्ता गतिविधि पनि बढी देखिएको प्रहरीले जनाएको छ।
त्यसैगरी बाँकेबाट ४ जना र दाङबाट ३ जना पक्राउ परेका छन् भने चितवन र सल्याणबाट २–२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी भक्तपुर, सुनसरी, सप्तरी, धनुषा, रौतहट, बारा, मकवानपुर, कास्की, रुपन्देही र अछामबाट एक–एक जना पक्राउ परेका छन्। ती व्यक्तिहरूमाथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रामक सूचना प्रवाह गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निर्वाचन जस्तो संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना फैलिँदा मतदातामा भ्रम सिर्जना हुनसक्ने, निर्वाचन प्रक्रियामाथि अविश्वास बढ्न सक्ने र शान्ति–सुरक्षा प्रभावित हुन सक्ने भएकाले कडा निगरानी गरिएको थियो।
प्रवक्ता काफ्लेले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न र अपुष्ट तथा भ्रामक सामग्री साझा नगर्न सबैलाई आग्रह गरेका छन्। साथै, सामाजिक सञ्जालको दुरुपयोग गर्ने जोकोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।
प्रहरीले आगामी दिनमा पनि सामाजिक सञ्जालको प्रयोगबारे निगरानी जारी राख्ने र गलत सूचना फैलाउने गतिविधिलाई नियन्त्रण गर्न थप कडाइ गरिने जनाएको छ।




प्रतिक्रिया !