रविलक्ष्मी चित्रकारमाथि आगजनी प्रकरणमा एक जनाविरुद्ध मुद्दा दायर,

रविलक्ष्मी चित्रकारमाथि आगजनी प्रकरणमा एक जनाविरुद्ध मुद्दा दायर,

लोक आवाज ,

काठमाडौँ , २८ फागुन । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा रविलक्ष्मी चित्रकारमाथि आगजनी गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको छ। प्रहरी वृत्त स्वयम्भूले बझाङको जयपृथ्वी नगरपालिका–११ घर भएका ३६ वर्षीय दिलबहादुर खातीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरेको जनाएको छ।

प्रहरीका अनुसार खातीले चित्रकार र उनको निवासमा आगजनी गरेको आरोप लागेको छ। घटनाबाट करिब १० करोड २४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको दाबी गर्दै सो रकम क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।

रविलक्ष्मी चित्रकार पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती हुन्। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँको डल्लुस्थित उनको घरमा आगजनी हुँदा उनी गम्भीर घाइते भएकी थिइन्।

घटनापछि उनलाई तत्काल कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको देब्रे हात काट्नुपरेको थियो। अस्पतालको आईसीयूमा लामो समय उपचारपछि स्वास्थ्यमा केही सुधार देखिए पनि पछि निमोनियाको संक्रमण देखिएको थियो।

स्वास्थ्य अवस्था जटिल भएपछि असोज ७ गते उनलाई थप उपचारका लागि भारत लगिएको थियो। भारतस्थित Apollo Hospitalमा करिब तीन महिना उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आएको थियो।

७० वर्षीया चित्रकारको शरीरको करिब १७ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन्। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार