लोक आवाज ,
काठमाडौं , २८ फागुन । नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले राष्ट्रिय सभा र प्रतिनिधिसभाका बैठक कक्षसँगै निर्माणाधीन मल्टीपर्पोज हलको अवस्थाबारे जानकारी लिएका हुन्।
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसके पनि संसद बैठक बस्ने स्थायी कक्ष अझै तयार नभएकाले अस्थायी रूपमा मल्टीपर्पोज हललाई सभाकक्षका रूपमा तयार पार्ने काम भइरहेको छ। अध्यक्ष दाहालले विशेषगरी नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणका लागि बनाइँदै गरेको उक्त हलको प्रगतिबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए।
सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार आगामी शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रूपमा प्रयोग गर्न मिल्ने गरी तयारी पूरा गरिनेछ। त्यसका साथै संसद भवन परिसरको सरसफाइ र आवश्यक व्यवस्थापनसम्बन्धी काम पनि तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।
अधिकारीहरूका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका स्थायी बैठक कक्षहरू पूर्ण रूपमा तयार हुन भने अझै एकदेखि दुई महिना लाग्ने अनुमान गरिएको छ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण तथा त्यसपछि हुने प्रतिनिधिसभा बैठकका लागि आवश्यक सम्पूर्ण तयारी समयमै पूरा गर्न निर्देशन दिएका छन्। बैठक कक्षको अव्यवस्थाका कारण राष्ट्रको प्रतिष्ठामा आँच नआउने गरी कामलाई तीव्र गतिमा अघि बढाउन उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।




प्रतिक्रिया !