इनिशा विक हत्याकाण्ड: दोषीलाई कडा कारबाहीको माग, शव ६ दिनदेखि अस्पतालमै,

इनिशा विक हत्याकाण्ड: दोषीलाई कडा कारबाहीको माग, शव ६ दिनदेखि अस्पतालमै,

लोक आवाज ,

सुर्खेत , २८ फागुन । सुर्खेतमा बलात्कारपछि हत्या गरिएको आरोप लागेकी १६ वर्षीया इनिशा विकको शव आफन्तले नबुझेका कारण ६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। परिवारले घटनामा संलग्न सबैलाई कडा कारबाही हुने स्पष्ट वातावरण नबन्दासम्म शव नबुझ्ने अडान लिएको छ।

उषा बालवाटीका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा फागुन २३ गते सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी सुर्खेतको गुर्भाकोट नगरपालिका–बडाखाली घर भएकी भए पनि पढाइका लागि वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्।

घटनाको प्रारम्भिक अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले पूरा गरिसकेको छ भने थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)को टोली वीरेन्द्रनगर पुगेको छ। टोलीले थप प्रमाण संकलन गर्दै घटनाको विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।

पोस्टमार्टम रिपोर्टअनुसार इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ। पोस्टमार्टममा संलग्न डा. अर्विन शाक्यका अनुसार जबर्जस्ती करणीका कारण संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव भएपछि मृत्यु भएको देखिएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रेमी भनिएका १६ वर्षीय किशोरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मोहनजंग बुढथापाका अनुसार उनीहरूविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

पीडित परिवार र स्थानीयले दोषीलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै आएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार