लोक आवाज ,
काठमाडौँ , २८ फागुन । कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ। उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज थिए।
बिहीबार कास्कीमा आयोजित जिल्ला कमिटीको बैठकमा बोल्ने क्रममा थापा अचानक ढलेका थिए। बैठकस्थलमै अस्वस्थ बनेपछि उनलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्। प्रारम्भिक जानकारीअनुसार बैठकमै उनलाई हृदयघात भएको बताइएको छ।
उनको आकस्मिक निधनले एमाले वृत्तमा शोक छाएको छ। पार्टीका नेता–कार्यकर्ताले थापाको योगदान स्मरण गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय थापा संगठन निर्माण र पार्टी विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नेता मानिन्थे।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनलाई कास्की क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको थियो। तर पार्टीभित्रैबाट विरोध भएपछि अन्तिम समयमा उनको टिकट फिर्ता लिई रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो।
थापाको निधनले कास्की क्षेत्रको राजनीतिमा ठूलो क्षति पुगेको नेताहरूले बताएका छन्। उनका समर्थक तथा शुभेच्छुकहरूले पार्टीप्रति उनको समर्पण र सक्रिय भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।




प्रतिक्रिया !