लोक आवाज ,
काठमाडौं, १८ फागुन । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्दै छिटो, व्यवस्थित र पारदर्शी मतगणनामा विशेष जोड दिइएको बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत २७५ सदस्यीय संघीय संसद्का लागि मतदान हुनेछ । जसमध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने ११० जना समानुपातिक प्रणालीमार्फत चयन गरिने व्यवस्था छ ।
आयुक्त भण्डारीले मतदातालाई स्वच्छ, स्वतन्त्र र सचेत ढंगले मतदानमा सहभागी हुन आग्रह गर्दै मतदान सम्पन्न भएपछि मतपेटिका संकलन, सुरक्षित ढुवानी तथा शीघ्र मतगणना गरी नतिजा प्रकाशन गरिने जानकारी दिए ।
उनका अनुसार मतदान सकिएको २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने गरी व्यवस्थापन मिलाइएको छ ।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारको समय निर्धारण गरेको थियो । उक्त अवधि सोमबार राति १२ बजेदेखि समाप्त भएसँगै मौन अवधि लागू हुने जनाइएको छ, जुन मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहनेछ ।
आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरेको छ । अनुशासन कायम राख्दै मौन अवधिलाई सम्मानपूर्वक पालन गर्न आयोगले अपिल गरेको छ ।



प्रतिक्रिया !