लोक आवाज,
जनकपुरधाम फागुन १८ । धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नं. ५ मा आयोजित एक विशेष कार्यक्रमका बीच विभिन्न राजनीतिक दल परित्याग गर्दै दर्जनौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।
आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थानीयस्तरमा सक्रिय रहेका विभिन्न दलका नेता, युवा तथा कार्यकर्ताहरूले कांग्रेसको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति विश्वास व्यक्त गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई धनुषा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार महेंद्र यादव तथा कांग्रेसका स्थानीय र क्षेत्रीय नेताहरूले टीका, माला र पार्टी सदस्यता प्रदान गर्दै भव्य स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले नेपाली कांग्रेसप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताए। उनले लोकतन्त्रको सुदृढीकरण, सुशासनको प्रवर्द्धन र समग्र क्षेत्रको विकासका लागि कांग्रेस निरन्तर क्रियाशील रहेको उल्लेख गरे। साथै उनले नवप्रवेशीहरूलाई पार्टी संगठनलाई अझ सुदृढ बनाउन र जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
नवप्रवेशीहरूले पनि देशमा स्थायित्व, विकास र जनताको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस नै उपयुक्त विकल्प भएको विश्वास व्यक्त गरेका छन्। उनीहरूले अब कांग्रेसको झण्डामुनि रहेर जनताको सेवा, सामाजिक न्याय र क्षेत्रको समृद्धिका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
यस प्रवेशसँगै लक्ष्मिनिया गाउँपालिका वडा नं. ५ मा नेपाली कांग्रेसको संगठन थप सुदृढ भएको र आगामी दिनमा पार्टीको जनाधार अझ मजबुत हुने विश्वास लिइएको स्थानीय नेताहरूले बताएका छन्।




प्रतिक्रिया !