लोक आवाज,
जनकपुरधाम फागुन १८ । धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेप्रति आकर्षण बढ्दै गएको छ। यसैक्रममा शहिदनगर नगरपालिका वडा नं. ५ कट्टि बिर्तामा विभिन्न राजनीतिक दल परित्याग गर्दै दर्जनौं स्थानीय नेता तथा कार्यकर्ता नेकपा एमाले मा प्रवेश गरेका छन्।
आइतबार आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत अन्य दलसँग आबद्ध रहेका नेता तथा कार्यकर्ताहरूले औपचारिक रूपमा एमाले रोजेका हुन्। नवप्रवेशीहरूलाई धनुषा क्षेत्र नं. २ का उम्मेदवार उमाशंकर अरगरिया तथा पार्टीका स्थानीय नेताहरूले टीका, माला र सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार अरगरियाले जनताको विश्वास जित्दै एमाले धनुषामा मजबुत बन्दै गएको बताए। उनले एमालेको स्पष्ट नीति, विकासमुखी सोच र जनताको पक्षमा काम गर्ने प्रतिबद्धताले नयाँ पुस्ता र स्थानीय नेतृत्व आकर्षित भएको उल्लेख गरे। साथै उनले नवप्रवेशीहरूलाई पार्टी संगठन विस्तार र जनताको सेवामा सक्रिय हुन आग्रह गरे।
नवप्रवेशीहरूले पनि मुलुकको स्थायित्व, सुशासन र समृद्धिका लागि एमाले नै सही विकल्प भएको विश्वास व्यक्त गरेका छन्। उनीहरूले अब पार्टीको सिद्धान्तअनुसार जनताको हितमा काम गर्दै क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्। यस घटनासँगै धनुषा निर्वाचन क्षेत्र नं. २ मा एमालेको जनाधार थप बलियो भएको स्थानीय नेताहरूले बताएका छन्।




प्रतिक्रिया !