निर्वाचनको तयारी: जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने,

निर्वाचनको तयारी: जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने,

लोक आवाज,

जनकपुरधाम, १५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिनका लागि बन्द गरिने भएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने मतदानलाई मध्यनजर गर्दै फागुन १९ गतेदेखि २१ गतेसम्म भंगहा–जनकपुर–जयनगर खण्डमा रेल सेवा पूर्ण रूपमा स्थगित रहनेछ।

कम्पनीका अनुसार निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रेल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनुषाले पनि रेल सेवा बन्द गर्न कम्पनीलाई औपचारिक पत्राचार गरेको जनाएको छ। प्रशासनले मतदानको दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने निर्वाचन प्रक्रियाको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै जयनगर–जनकपुर–बर्दिबास खण्डको रेल सेवा ७२ घण्टा अगावै बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

रेल सेवा बन्द हुँदा यात्रुहरूलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ। साथै, फागुन २२ गतेदेखि पूर्ववत् तालिकाअनुसार नियमित सेवा पुनः सञ्चालन हुने जानकारी गराइएको छ।

निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई समन्वयका लागि सूचित गरिएको प्रशासनले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार