लोक आवाज,
सर्लाही, १५ फागुन । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा मुख्य योजनाकारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट स्थायी जागिर प्राप्त गर्ने उद्देश्यले योजनाबद्ध रूपमा हत्या गरिएको खुलासा भएको छ।
जिल्ला प्रहरीका अनुसार फागुन ३ गते साँझ करिब ७ः५५ बजे मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय यादवलाई फोन गरेर बाहिर बोलाइएको थियो। बाहिर निस्किनेबित्तिकै उनीमाथि गोली प्रहार गरिएको थियो।
गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्टले छातीमा लागेको गोलीका कारण मृत्यु भएको पुष्टि गरेको छ।
घटनापछि प्रहरीले प्रविधि, इन्टेलिजेन्स तथा प्राविधिक विश्लेषणको प्रयोग गर्दै मृतकका परिवार, साथीभाइ र चिनजानका व्यक्तिसँग सोधपुछ गरेको थियो। अनुसन्धानका क्रममा महोत्तरी घर भई हाल सर्लाही बरहथवामा बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो हत्या योजनाका मुख्य योजनाकार रहेको खुलेको छ।
महतो सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत थिए। उनी प्रदेश लोक सेवा आयोगबाट सब–इन्जिनियर पदका एक मात्र वैकल्पिक उम्मेदवार रहेको र मृतक यादव मुख्य सिफारिसमा परेका उम्मेदवार थिए।
प्रहरीका अनुसार नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भए आफूलाई स्थायी नियुक्ति मिल्ने बुझाइका आधारमा उनले हत्या योजना बनाएको प्रारम्भिक निष्कर्ष छ।
अनुसन्धानमा महतोले आफ्ना आफन्त चन्द्र किशोर सिंह कुशवाहासँग मिलेर हत्या योजना बनाएको खुलेको छ। ‘राकेश यादव’ नाम प्रयोग गरी मृतकसँग फोन सम्पर्क कायम गरिएको र घटनाको दिन व्हाट्सएप कलमार्फत बाहिर बोलाएर आफ्नै साथमा ल्याएको पेस्तोलबाट गोली प्रहार गरिएको थियो।
गोली प्रहारपछि अभियुक्तहरू मोटरसाइकलमा फरार भएका थिए। प्रयोग गरिएको मोटरसाइकल रौतहटको गढीमाई क्षेत्रमा बागमती नदीको बाँध नजिक वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
हतियार खरिदका लागि गणेश महतोले आफ्ना भाइ विजय कुमार महतोलाई दशैंअघि नै ८० हजार रुपैयाँ दिएको र सोही हतियार घटनामा प्रयोग भएको अनुसन्धानबाट खुलेको छ।
हतियार, मोटरसाइकल र मोबाइल बरामद
घटनामा संलग्न आरोपमा प्रहरीले गणेश कुमार महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतोलाई फरक–फरक स्थानबाट पक्राउ गरेको छ। उनीहरूको बयानका आधारमा घटनामा प्रयोग भएको पेस्तोल, गोलीको खोका, भारतीय नम्बर प्लेट भएको मोटरसाइकल तथा तीन थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
निर्माणाधीन मन्दिरभित्र एक बालकले भेटाएको पेस्तोल पनि यही घटनासँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। उक्त हतियारको फरेन्सिक परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ।

कर्तव्य ज्यान र हातहतियार कसूरमा मुद्दा
प्रहरीले पक्राउ परेका आरोपितहरूविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान मार्ने नियतले अपराध गरे जन्मकैदसम्म सजाय हुने व्यवस्था छ भने इजाजतबिना हातहतियार कारोबार गरे सात वर्षसम्म कैद र जरिवानाको प्रावधान रहेको छ।




प्रतिक्रिया !