लोक आवाज ,
जनकपुरधाम, १५ फागुन । निर्वाचन आयोग, नेपाल ले मतदानको दिन सवारी साधन सञ्चालनमा कडाइ गर्दै अत्यावश्यक प्रयोजनबाहेक निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाउने व्यवस्था गरेको छ ।
मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन आयोगले सवारी पास वितरणसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै सीमित व्यक्तिलाई मात्र सवारी प्रयोग गर्न अनुमति दिने जनाएको हो ।
आयोगका अनुसार निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न पदाधिकारी, सुरक्षाकर्मी, पर्यवेक्षक तथा कूटनीतिक नियोगका प्रतिनिधिले निश्चित सर्त पूरा गरेपछि मात्रै सवारी प्रयोग गर्न पाउनेछन् ।
कसले पाउँछन् सवारी पास ?
१. उम्मेदवार तथा प्रतिनिधि
उम्मेदवार वा उनका अधिकृत प्रतिनिधिलाई आवश्यकताअनुसार सवारी पास उपलब्ध गराइनेछ । यसका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस आवश्यक हुनेछ ।
२. सुरक्षाकर्मी
मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई आवश्यकताअनुसार सवारी प्रयोग गर्न छुट दिइनेछ ।
३. राष्ट्रिय पर्यवेक्षक (उपत्यकाभित्र)
उपत्यकाभित्र खटिने प्रत्येक राष्ट्रिय पर्यवेक्षक संस्थालाई बढीमा पाँचवटा सवारी साधनको पास उपलब्ध गराइनेछ । सिफारिस आयोगबाट हुने र पास प्रमुख जिल्ला अधिकारीमार्फत जारी हुनेछ ।
४. राष्ट्रिय पर्यवेक्षक (उपत्यकाबाहिर)
भौगोलिक अवस्थाअनुसार हिमाली जिल्लामा १, पहाडी जिल्लामा २ र तराईका जिल्लामा बढीमा ३ वटासम्म सवारी पास प्रदान गरिनेछ ।
५. संवैधानिक आयोगहरू
संवैधानिक आयोगका पदाधिकारी तथा कर्मचारीलाई आवश्यकताअनुसार सवारी साधन प्रयोग गर्न छुट दिइनेछ ।
६. संवैधानिक निकायका प्रादेशिक तथा जिल्ला कार्यालय
प्रदेश तथा जिल्ला तहमा रहेका संवैधानिक निकायका कार्यालयलाई पनि आवश्यकता अनुसार सवारी पास उपलब्ध गराइनेछ ।
७. कूटनीतिक नियोगका अवलोकनकर्ता
विदेशी कूटनीतिक नियोगका अवलोकनकर्तालाई आयोगको सिफारिसमा आवश्यकताअनुसार सवारी पास दिइनेछ ।
८. आयोगबाट आमन्त्रित विशिष्ट अतिथि
औपचारिक रूपमा आमन्त्रित विशिष्ट अतिथिहरूलाई पनि आवश्यकता अनुसार सवारी सञ्चालन अनुमति रहनेछ ।
९. कूटनीतिक नियोगका नियमित प्रशासनिक काम
नियमित कार्यालय प्रयोजनका लागि आवश्यक सवारी पास परराष्ट्र मन्त्रालयको सिफारिसमा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
आयोगले सवारी पासको दुरुपयोग नगर्न चेतावनी दिँदै पासविहीन सवारी चलाएमा कडा कारबाही गरिने जनाएको छ ।
मतदानका दिन सर्वसाधारणलाई सकेसम्म पैदल वा तोकिएको व्यवस्थामार्फत मतदान केन्द्रसम्म पुग्न आग्रह गर्दै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायलाई नियमको पूर्ण पालना गर्न आह्वान गरेको छ ।



प्रतिक्रिया !