लोक आवाज ,
जनकपुरधाम, १० फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेतृ जुलीकुमारी महतोले आगामी निर्वाचनमा मतदाताले पुनः आफूमाथि विश्वास गर्ने दाबी गरेकी छन्।
उनले २०७९ को निर्वाचनमा प्राप्त जनसमर्थन यसपटक पनि कायम रहने विश्वास व्यक्त गरिन्। आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वर पुगेकी महतोले स्थानीयको स्वागतपछि अघिल्लो कार्यकालमा सुरु गरिएका विकास योजनालाई निरन्तरता दिन आफू फेरि मैदानमा उत्रिएको बताइन्।
मतदाताले काम गर्ने अवसर दिएको र सोही अनुसार काम अघि बढिरहेको अवस्थामा कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानु परेको उनको भनाइ थियो। सुरु गरिएका योजनाहरू आफूले नै पूरा गर्ने अपेक्षा मतदातामा रहेको उल्लेख गर्दै क्षेत्रको समग्र विकासका लागि ल्याइएका कार्यक्रमलाई निरन्तरता दिन पुनः अवसर आवश्यक रहेको उनले बताइन्।
महतोले नयाँ दलहरूले पुराना दलप्रति मतदातामा वितृष्णा फैलिएको भन्ने भ्रम फैलाइरहेको आरोप लगाउँदै एमाले संविधान रक्षा र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर उभिएको दल भएको दाबी गरिन्। एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको स्पष्ट दृष्टिकोण अघि सारेको उल्लेख गर्दै उनले मधेस क्षेत्रका लागि नेपाल रेल स्तरोन्नति, सुनकोशी–मरिन–कमला डाइभर्सनजस्ता परियोजना तथा जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाहरू अघि बढाइएको स्मरण गराइन्।
क्षेत्रका मतदाता यी विकास प्रयासबारे जानकार रहेको भन्दै आगामी दिनमा पनि एमाले नेतृत्वप्रति जनसमर्थन कायम रहनेमा आफू विश्वस्त रहेको महतोको भनाइ छ।




प्रतिक्रिया !