महोत्तरीमा सर्वदलीय बैठक: आचारसंहिता पालना, मदिरा बिक्री निषेध र सुरक्षा कडाइ गर्ने निर्णय

महोत्तरीमा सर्वदलीय बैठक: आचारसंहिता पालना, मदिरा बिक्री निषेध र सुरक्षा कडाइ गर्ने निर्णय

लोक आवाज ,

महोत्तरी, १० फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वदलीय समन्वय बैठक सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्ने, सरकारी स्रोत–साधनको दुरुपयोग नगर्ने तथा चुनावी गतिविधि मर्यादित र नियमसम्मत ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

मतदान प्रक्रियालाई सहज बनाउन मतदान अधिकृत र कर्मचारीलाई आवश्यक सहजीकरण गर्ने तथा उनीहरूलाई निष्पक्ष र भयरहित वातावरणमा जिम्मेवारी निर्वाह गर्न सबै निकायले सहयोग गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। जिल्लाको बहुभाषिक तथा बहुसांस्कृतिक परिवेशलाई ध्यानमा राख्दै धर्म, जाति, भाषा वा समुदायबीच वैमनस्य फैलाउने गतिविधि नगर्न पनि सबै पक्ष सहमत भएका छन्।

निर्वाचन प्रचारका क्रममा झडप वा अवरोध हुन नदिन कार्यकर्तालाई संयमित रहन निर्देशन दिने, सामाजिक सञ्जालमा चरित्रहत्या, घृणास्पद अभिव्यक्ति तथा भ्रामक सूचना फैलाउने गतिविधि नियन्त्रण गर्ने निर्णय पनि बैठकले गरेको छ। सम्भावित विवाद स्थानीय तहमै संवादमार्फत समाधान गर्दै सुरक्षा निकायसँग निरन्तर समन्वय गर्ने सहमति गरिएको छ।

बैठकले निर्वाचन जुलुस, आमसभा तथा प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने र विद्यालय क्षेत्रलाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने निर्णय गरेको छ। निर्वाचनको दिन अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन सञ्चालन बन्द रहने तथा उम्मेदवार र निर्वाचनमा खटिने व्यक्तिले पास लिएर मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिने जनाइएको छ।

मिथिला माध्यमिकी परिक्रमाका क्रममा नेपाल प्रवेश गरेका विशेषगरी भारतीय दर्शनार्थीलाई सीमा सिल हुने अवस्थालाई ध्यानमा राखी फागुन १८ भित्र सुरक्षित रूपमा फर्कन जानकारी गराउने निर्णय गरिएको छ। उम्मेदवारलाई सुरक्षा चुनौती देखिए आवश्यक सुरक्षा व्यवस्था मिलाइने प्रशासनले जनाएको छ।

आसन्न होली पर्वलाई पनि सुरक्षा संवेदनशीलता ध्यानमा राखी मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरिएको छ भने सार्वजनिक स्थलमा भीडभाड गरेर सामूहिक होली मनाउन रोक लगाउने निर्णय भएको छ।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै फागुन १८ देखि २१ गतेसम्म भारतीय नम्बर प्लेटका सवारी साधनलाई भन्सार सुविधा नदिने, मतदानभन्दा सात दिनअघि जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवन पूर्ण रूपमा निषेध गर्ने तथा सीमा क्षेत्रमा हुने अवैध मदिरा कारोबार नियन्त्रणका लागि संयुक्त अनुगमन टोली परिचालन गरिने निर्णय समेत गरिएको छ।

विदेशबाट मतदान गर्न आउने नेपाली नागरिकलाई सीमा सिल हुनुअघि अर्थात् फागुन १७ भित्रै नेपाल प्रवेश गर्न सार्वजनिक अपिल गरिएको छ। प्रशासनले यी निर्णय कार्यान्वयनका लागि सबै राजनीतिक दल, स्थानीय तह र सुरक्षा निकायको सक्रिय सहकार्य आवश्यक रहेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार