लोक आवाज ,
काठमाडौँ , ०६ फागुन — नेपाली सेनाका सैनिक सवार बस भोजपुरमा दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन्, जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार गम्भीर घाइते ८ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ। अन्य १६ जनाको अवस्था सामान्य रहेको र उनीहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।
बसमा दुई चालकसहित २६ जना सवार थिए। नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले दुर्घटनामा घाइतेमध्ये दुई जनालाई काठमाडौँ ल्याइसकिएको तथा अन्यलाई पनि हेलिकप्टरमार्फत ल्याउने तयारी भइरहेको जानकारी दिए।
बुधबार दिउँसो करिब १:१५ बजे भोजपुरबाट टेम्केमैयुङ गाउँपालिकातर्फ जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–३ स्थित सेतीबगर क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। सेना आगामी फागुन २१ गते हुने निर्वाचनका लागि टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न जाँदै गरेको बताइएको छ।




प्रतिक्रिया !