सुनिल साह ,
जनकपुरधाम, ०४ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा धनुषा जिल्लामा जनकपुरधाम उपमहानगरपालिका पहिलो स्थानमा परेको छ। आयोगका अनुसार उक्त उपमहानगरपालिकाले ५१.५८ अंक प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये अग्रस्थान हासिल गरेको हो।
मूल्याङ्कनमा गाउँपालिकातर्फ लक्ष्मीनियाँ गाउँपालिका ४९.२ अंकसहित दोस्रो स्थानमा रहँदा बटेश्वर गाउँपालिका ले ४७.८८ अंक प्राप्त गरेको छ। नगरपालिकामध्ये गणेशमान चारनाथ नगरपालिका ४७.९० अंकसहित उत्कृष्ट देखिएको छ।
त्यसैगरी विदेह नगरपालिका ले ४६.२७, शहीदनगर नगरपालिका ले ४२.२५, क्षिरेश्वरनाथ नगरपालिका ले ३९.८५, धनुषाधाम नगरपालिका ले ३९.२२, कमला नगरपालिका ले ३८.७४, मिथिला बिहारी नगरपालिका ले ३८.१५, मिथिला नगरपालिका ले ३७.४५, हंसपुर नगरपालिका ले ३५.७६, नगराइन नगरपालिका ले ३५ तथा सबैला नगरपालिका ले ३४ अंक प्राप्त गरेका छन्।
गाउँपालिकातर्फ जनकनन्दिनी गाउँपालिका ले ४५.९३, मुखियापट्टी मुसहरनिया गाउँपालिका ले ४५ तथा औरही गाउँपालिका ले ४०.३४ अंक हासिल गरेका छन्। यता धनौजी गाउँपालिका ३२.८१ अंकसहित जिल्लाकै कमजोर कार्यसम्पादन गर्ने स्थानीय तहका रूपमा सूचीकृत भएको छ।
आयोगले वित्तीय व्यवस्थापन, सेवा प्रवाह, योजना कार्यान्वयन, पारदर्शिता, उत्तरदायित्व तथा संस्थागत क्षमता लगायत विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिएको जनाएको छ। सार्वजनिक नतिजाले स्थानीय तहबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै सुशासन प्रवर्द्धन, सेवा प्रभावकारिता वृद्धि र विकास कार्यक्रमको गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस मूल्याङ्कनलाई स्थानीय सरकारहरूको कार्यकुशलता मापन गर्ने महत्वपूर्ण आधारका रूपमा लिइएको छ, जसले आगामी योजना निर्माण, स्रोत व्यवस्थापन तथा नागरिकमुखी सेवामा सुधार ल्याउन मार्गदर्शन गर्ने विश्वास आयोगको छ।




प्रतिक्रिया !