राजर्षी जनक विश्वविद्यालयका विद्यार्थी नेता सशिकान्त मण्डल नेकपामा प्रवेश,

राजर्षी जनक विश्वविद्यालयका विद्यार्थी नेता सशिकान्त मण्डल  नेकपामा प्रवेश,

सुनिल साह ,

जनकपुरधाम , ०४ फागुन । राजर्षी जनक विश्वविद्यालयसँग आवद्ध विद्यार्थी नेता सशिकान्त मण्डल  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। विद्यार्थी जनमत संघ, विश्वविद्यालय समितिका सक्रिय नेता तथा स्ववियु सभापति पदका उम्मेदवार समेत रहेका थिए ।

मिति २०८२ फागुन २ गते शनिबार निर्वाचन क्षेत्र नं.२ अन्तर्गत तिनकौरिया बजारमा आयोजित विशेष कार्यक्रममार्फत उनीहरू औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्। कार्यक्रममा विभिन्न तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व संघीय मन्त्री रामचन्द्र झाले सशिकान्त मण्डललाई फूलमाला, गम्छा, तारा छापको ब्याच र रातो टीका लगाई पार्टीमा स्वागत गरेका थिए। उनले युवाहरूको सक्रिय सहभागिताले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै मधेशको समग्र विकास, सुशासन र जनमुखी नीति निर्माणका लागि युवाहरूको भूमिका निर्णायक हुने बताए।

उक्त अवसरमा समानुपातिक तर्फका उम्मेदवार श्रवण बरबरिया, मधेश प्रदेश सांसद रत्नेश्वर लाल गोइत लगायतका नेताहरूले पनि युवाहरूको सहभागितालाई सकारात्मक संकेतको रूपमा व्याख्या गर्दै संगठन विस्तार र जनतासँगको सम्बन्ध अझ सुदृढ हुने धारणा राखेका थिए। कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ताको बाक्लो सहभागिता देखिएको थियो भने स्थानीय बासिन्दाले पनि कार्यक्रमप्रति उत्साहजनक समर्थन जनाएका थिए।

पार्टी प्रवेशपछि सशिकान्त मण्डलले क्षेत्र नं.२ शहीद कामेश्वर र कुशेश्वरको ऐतिहासिक तथा प्रेरणादायी भूमि भएको उल्लेख गर्दै यही भूमिबाट आफ्नो राजनीतिक यात्राको औपचारिक सुरुवात गर्न पाउनु गौरवको विषय भएको बताए। आफ्नै जन्मभूमिमा स्थानीय जनप्रतिनिधि र नेताहरूको उपस्थितिमा पार्टी प्रवेश गर्न पाउँदा आफू थप जिम्मेवार र उत्साहित भएको उनको भनाइ थियो।

उनले विद्यार्थी र युवाहरूको हक–हित, शिक्षा क्षेत्रको सुधार, सामाजिक न्याय र विकासका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सामूहिक रूपमा युवाहरू पार्टीमा प्रवेश गर्नुले क्षेत्र नं.२ मा बढ्दो राजनीतिक जागरण र युवापुस्ताको सक्रिय सहभागितालाई संकेत गरेको विश्लेषण गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार