महाशिवरात्रि आज श्रद्धापूर्वक मनाइँदै, जनकपुरधामका शिवालयमा भक्तजनको घुइँचो,

महाशिवरात्रि आज श्रद्धापूर्वक मनाइँदै, जनकपुरधामका शिवालयमा भक्तजनको घुइँचो,

सुनिल साह 

जनकपुरधाम, ३ फागुन । आराध्यदेव भगवान् शिवको पूजा–आराधनामा समर्पित महाशिवरात्रि पर्व आज जनकपुरधामसहित नेपालभर श्रद्धा, भक्तिभाव र धार्मिक उत्साहका साथ मनाइएको छ।

फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यस पावन अवसरमा बिहानैदेखि शिवालयहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ। श्रद्धालुहरू नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवमन्दिर पुगेर विधिपूर्वक पूजा–अर्चना गरिरहेका छन्।

जनकपुरधामका विभिन्न प्रसिद्ध शिवमन्दिरमा दिनभर दर्शनार्थीहरूको घुइँचो देखिएको छ। भक्तजनले दूध, धतुरो र बेलपत्र चढाई भगवान् शिवको आराधना गर्ने परम्परा अनुसार पूजा गरेका छन्।

पञ्चाङ्ग अनुसार आइतबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी प्रारम्भ हुने जनाइएको छ। चतुर्दशी तिथि सोमबार दिउँसो २ः५१ बजेसम्म रहनेछ। मध्यरातमा विशेष पूजा, आरती तथा जाग्राम कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन पक्षले जनाएको छ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार भगवान् शिव प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र अवसरका रूपमा मानिन्छ। धार्मिक विश्वासअनुसार यस दिन व्रत, उपवास र रातभर जाग्राम बस्दा विशेष पुण्य प्राप्त हुने जनविश्वास रहेको छ।

स्थानीय परम्पराअनुसार भगवान् महादेवलाई जाडो लाग्ने मान्यतासहित घरघर तथा मठमन्दिरमा दाउरा संकलन गरी धुनी जगाउने, भजन–कीर्तन गर्ने र प्रसाद ग्रहण गर्ने चलन पनि रहेको छ।

पर्वका अवसरमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। देशभरका प्रमुख शिवालयहरूमा विशेष मेला तथा धार्मिक कार्यक्रम आयोजना गरिएका छन् भने श्रद्धालुहरू भजन–कीर्तनमा सहभागी हुँदै शिवभक्तिमा लीन भएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार