लोक आवज ,
काठमाडौं, ०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र प्रचारप्रसार गर्न पाउने स्पष्ट निर्देशन दिएको छ। आयोगले जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत गरिने प्रचार सोही अवधिभित्र सीमित गर्न भनेको हो।
फागुन २१ गते बिहीबार हुने निर्वाचनको तयारीका क्रममा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने कुनै पनि गतिविधि नगर्न दल तथा उम्मेदवारलाई सचेत गराए।
आयोगले उम्मेदवारी दिन, प्रचार गर्न वा मतदान गर्न कसैलाई रोक्ने, थुनछेक गर्ने, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन गर्ने, डर-त्रास देखाउने, सामाजिक बहिष्कार गर्ने, आर्थिक प्रलोभन दिने वा धर्मका नाममा प्रभाव पार्ने जस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।
मतदातालाई उपहार, नगद, जिन्सी, भोज वा अन्य लोभ देखाएर प्रभावित पार्न नपाइने तथा राष्ट्रियता, सामाजिक सद्भाव र बहुदलीय लोकतान्त्रिक व्यवस्थामा आँच पुग्ने अभिव्यक्ति वा गतिविधि नगर्न आयोगले विशेष निर्देशन दिएको छ। कुनै उम्मेदवार वा परिवारको चरित्र हत्या गर्ने, धम्की दिने वा परिणाम प्रभावित पार्ने प्रयास गरे कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ।
प्रचार सामग्री वितरणका हकमा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्च आकारको एउटै रङको पर्चा मात्र प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ। पोस्टर, भित्तेलेखन, ब्यानर, डिजिटल डिस्प्ले प्रयोग गर्न, धार्मिक वा सार्वजनिक संरचनामा सामग्री टाँस्न तथा अनावश्यक रूपमा साउण्ड सिस्टम प्रयोग गर्न निषेध गरिएको छ।
मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै प्रकारको सभा, जुलुस, नाराबाजी वा प्रचारप्रसार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ। साथै सरकारी, सार्वजनिक वा शैक्षिक संस्थाका सवारीसाधन प्रयोग गर्न, र्याली निकाल्न, सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्ति चुनावी प्रयोजनमा प्रयोग गर्न पनि रोक लगाइएको छ।
सरकारी वा गैरसरकारी निकायबाट कानुनविपरीत आर्थिक सहयोग लिन नहुने तथा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न आयोगले सबै पक्षलाई आग्रह गरेको छ।




प्रतिक्रिया !