लोक आवाज ,
जनकपुरधाम , १ फागुन । नेपाली सेना ले मलंगवा स्थित जिल्ला कारागारको सुरक्षा जिम्मेवारी औपचारिक रूपमा सम्हालेको छ। बिहीबार साँझ ५ बजेदेखि कारागारको बाह्य तथा आन्तरिक सुरक्षा सेनाले आफ्नो नियन्त्रणमा लिएको हो।
मलंगवा सुरक्षा बेसबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा २५ सदस्यीय टोली कारागार सुरक्षाका लागि खटिएको सेनाले जनाएको छ।
यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल को संयुक्त टोलीले सुरक्षा दिँदै आएको थियो।
नेपाल सरकार को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण संरचनामा सेना परिचालन गर्ने नीति लागू गरिएको हो। सोही निर्णय कार्यान्वयनका क्रममा मलंगवा कारागारमा सेना तैनाथ गरिएको बताइएको छ।
कालीध्वज गण पाँचकुमारीका गणपति उमेश खड्काका अनुसार सेनाको टोलीले स्थानीय प्रशासन र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर जिम्मेवारी सम्हालिसकेको छ।
उनले सरकारको निर्देशनअनुसार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै सेनाको उपस्थितिपछि कारागारको सुरक्षा व्यवस्था अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
घटना सर्लाही जिल्लाको सुरक्षा व्यवस्थासँग जोडिएको संवेदनशील विषयका रूपमा हेरिएको छ।



प्रतिक्रिया !