लोक आवाज ,
काठमाडौँ , २९ माघ । आगामी आम निर्वाचनलाई लक्षित गर्दै लोकप्रिय भिडियो प्लेटफर्म टिकटकले नेपालमा ‘इलेक्सन सेन्टर’ सञ्चालनमा ल्याएको छ। निर्वाचन आयोग, नेपालसँगको सहकार्यमा सुरु गरिएको यो इन–एप हबमार्फत प्रयोगकर्तालाई निर्वाचनसम्बन्धी सही, भरपर्दो र आधिकारिक जानकारी उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यस पहलका लागि टिकटक र निर्वाचन आयोगबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। ‘इलेक्सन सेन्टर’ मार्फत प्रयोगकर्ताले नेपालको निर्वाचन प्रक्रिया, मतदान गर्ने तरिका, मतदान स्थलसम्बन्धी जानकारी तथा भ्रामक सूचनाहरू पहिचान गर्ने उपायबारे जानकारी प्राप्त गर्न सक्नेछन्।
टिकटकले निर्वाचनसँग सम्बन्धित भिडियो र खोज परिणामहरूमा विशेष ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सिधै उक्त केन्द्रसम्म पहुँच पुर्याउने व्यवस्था गरेको जनाएको छ। साथै, निर्वाचनको निष्पक्षता र डिजिटल सचेतना अभिवृद्धिका लागि आयोग परिसरमा क्षमता विकाससम्बन्धी कार्यशाला पनि सञ्चालन गरिएको थियो।
प्लेटफर्ममा फैलिन सक्ने भ्रामक वा हानिकारक सामग्री नियन्त्रण गर्न टिकटकले कडा नीति लागू गरेको छ। अपुष्ट सामग्रीमा चेतावनी लेबल राख्ने, त्यस्ता सामग्रीलाई सिफारिस प्रणालीबाट हटाउने तथा सेयर गर्नुअघि प्रयोगकर्तालाई सचेत गराउने व्यवस्था गरिने कम्पनीले जनाएको छ।
नेपालका लागि विशेष ‘इलेक्सन टास्कफोर्स’ परिचालन गरिएको छ भने सामग्रीको सत्यता परीक्षणका लागि विश्वभरका २० भन्दा बढी तथ्य–जाँच संस्थासँग सहकार्य भइरहेको बताइएको छ।
यसका अतिरिक्त, कृत्रिम संलग्नता (बोट नेटवर्क), नक्कली पहिचान र गोप्य प्रभाव पार्ने गतिविधिहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। एआईद्वारा निर्मित सामग्रीमा अनिवार्य रूपमा लेबल राख्नुपर्ने व्यवस्था गरिएको छ भने सार्वजनिक व्यक्तिलाई गलत रूपमा प्रस्तुत गर्ने वा हैरानी दिने खालका एआई सामग्रीहरू प्लेटफर्ममा अनुमति नदिइने स्पष्ट गरिएको छ।



प्रतिक्रिया !