लोक आवाज ,
काठमाडौँ ,२८ माघ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले बुधबार बिहानसम्म १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रले दैनिक रूपमा मतपत्र छपाइ तीव्र गतिमा गरिरहेको छ। प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख थान मतपत्र छाप्नुपर्नेमा हालसम्म १ करोड ५३ लाख मतपत्र तयार भइसकेको केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए।
उनका अनुसार सुरुमा दैनिक १३ लाख मतपत्र छापिँदै आएकामा अहिले क्षमता बढाएर दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको छ। अब करिब ५० लाख मतपत्र छपाइ गर्न बाँकी रहेको र शुक्रबार साँझसम्म वा बढीमा शनिबारसम्म सबै मतपत्र छपाइ सकिने लक्ष्य रहेको छ।
यसअघि समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ कार्य सम्पन्न भइसकेको उनले बताए।
छापिएका मतपत्र फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा पुर्याइसक्ने तयारी गरिएको केन्द्रले जनाएको छ।



प्रतिक्रिया !