इंग्ल्यान्डविरुद्ध नेपाल आज मैदानमा, टी–२० विश्वकपको तेस्रो यात्राको औपचारिक सुरुवात

इंग्ल्यान्डविरुद्ध नेपाल आज मैदानमा, टी–२० विश्वकपको तेस्रो यात्राको औपचारिक सुरुवात

लोक आवाज ,

जनकपुरधाम, २४ माघ  । आईसीसी टी–२० विश्वकपको तेस्रो सहभागिताको औपचारिक सुरुवात नेपालले आजबाट गर्दैछ। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपालले बलियो टेस्ट टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।

यसअघि यही समूहको पहिलो खेलमा वेस्टइन्डिजले स्कटल्यान्डलाई पराजित गरेको थियो। शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका थिए। ती खेलमा एसोसिएट टोलीहरूले टेस्ट टोलीमाथि दबाब सिर्जना गरे पनि सनसनीपूर्ण जित निकाल्न भने सकेनन्। नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्टइन्डिज तथा अमेरिकाले भारतविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न असफल भए।

दिउँसो ३:१५ बजे मुम्बईको वानखेडे मैदानमा सुरु हुने खेलमा नेपाल इंग्ल्यान्डविरुद्ध आफूलाई प्रतिस्पर्धात्मक टोलीका रूपमा प्रस्तुत गर्ने तयारीमा रहेको छ। वार्मअप खेलमा लगातार दुई जित निकाल्दै आत्मविश्वास बढाएको नेपाली टोलीले इंग्ल्यान्डलाई कडा चुनौती दिने विश्वास गरिएको छ।

अर्कोतर्फ, इंग्ल्यान्डको पछिल्लो अस्थिर फर्म र तुलनात्मक रूपमा कमजोर टोलीसँग व्यहोरेको हारका कारण नेपालले ‘सरप्राइज’ नतिजा निकाल्न सक्ने आशा पनि गरिएको छ। तेस्रो विश्वकप यात्रामा नेपाल कम्तीमा सुपर ८ सम्म पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

शीर्ष ८ मा स्थान बनाउन समूह चरणका चारमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने चुनौती नेपालसामु रहेको छ। त्यसका लागि अन्य टोलीको नतिजा पनि महत्वपूर्ण हुनेछ। यही कारण इंग्ल्यान्डसँगको पहिलो खेललाई नेपालले अत्यन्त महत्वपूर्ण रूपमा हेरेको छ।

नेपाल र इंग्ल्यान्डबीच टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो भेट हो। यसअघि नेपालले टेस्ट टोली वेस्टइन्डिजसँग शृंखला खेले पनि अन्य टेस्ट राष्ट्रविरुद्ध यस्तो प्रतिस्पर्धाको अवसर पाएको थिएन।

इंग्ल्यान्ड भने विश्वकपअघि श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्दै मुम्बई आइपुगेको छ र पहिलो खेलबाटै आफ्नो उपाधि दाबेदारी प्रस्तुत गर्ने तयारीमा रहेको छ। नेपाल भने टी–२० विश्वकपमा १२ वर्षपछि पहिलो जितको खोजीमा मैदान उत्रँदैछ।

नेपालका कप्तान रोहित पौडेलले इंग्ल्यान्डसँगको खेल कठिन हुने स्वीकार्दै टिमले सतप्रतिशत प्रदर्शन गर्ने बताएका छन्। उनले यसपटक सुपर ८ मा पुग्ने लक्ष्यसहित तयारी गरिएको र सुरुवातबाटै सोही लक्ष्य पछ्याइने बताए। उता, इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने भन्दै नेपालसँगको खेल पनि अन्य खेल जत्तिकै महत्वपूर्ण हुने प्रतिक्रिया दिएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार